गोरुजुरे र सभापोखरीको काखमा एउटा प्रतिभा दखिन राई


हिउँदका केही महिना मात्र गाडी चल्ने बाह्रबिसे पुग्न सदरमुकाम खाँदबारीदेखि घण्टौं हिंड्नुपर्छ । भौगोलिक दृष्टिलेसमेत खोंचमा रहेको बाह्रबिसे बजार अग्ला पहाडी चुचुराहरु गोरुजुरे र सभापोखरीको फेदीमा छ । उनै सभापोखरी र गोरुजुरेतर्फ सोझिएर नाक ठोक्किने उकालो चढ्दा पुगिन्छ, पावा । दुर्गम पावालाई गाउँलेहरुले माया गर्नुको कुनै कारण छ भने त्यो अलैंची हो । अलैंची रुँघेर गाउँ बसेका पात्रहरुमध्येकै एक हुन्, दखिन राई । त्यसैले यो गीतको स्थायीमा मात्र होईन, दुवै अन्तरामा पनि यथार्थता समेटिएको छ ।
तर दखिन फरक छन् । यस अर्थमा कि, अलैंचीको झ्याङ गोडिरहँदा होस् या बगानमा पानीको कुलो सोझ्याईरहँदा । हम्मेसा उनी संगीतमै डुबिरहन्छन्, सोंचिरहन्छन् । त्यसैले त उनले गोरुजुरे र सभापोखरी, अरुण, बरुण अनि बाह्रबिसे र खाँदबारीको वर्णनलाई गीतमा अटाए । उनका अधिकांश गीतहरुमा स्थानीय भूगोल, रहनसहन र लोकजीवनको प्रतिविम्व झल्किन्छ ।

सडक, बिजुली, सञ्चारको सुविधा छैन पावामा । तैपनि दखिन पावामै बस्छन् । पावाकै सेरोफेरोमा लुकामारी गर्दै घरगाउँ र जिल्लाका परिवेशहरुलाई गीतमा उन्छन् । रेकिर्डिङका लागि मात्र धरान र काठमाडौ पुग्ने हो उनले । हिउँदमा भने जिल्लाका बिभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन्छन् ।
क्याम्पस पढ्ने सिलसिलामा धनकुटा झरेपछि २०६३ सालदेखिको हो उनको सांगीतिक यात्रा थालेको । त्यसैताका उनले रेडियो नेपालको क्षेत्रीय प्रसारणमा संगम कार्यक्रमका लागि ११ महिना बाँसुरी पनि बजाए । दिपेन्द्रकुमार राईसँग संगीत प्रशिक्षण लिएपछि दखिनले पहिलो गीत ‘माछी मिठो असला सभाखोलाको . . . ’ २०६६ सालमा रेकर्ड गराएका थिए । जुन गीत उनको ‘ब्राण्ड गीत’ नै बन्यो ।


२०६७ सालमा उनले ‘मान्दैन यो मन’ नामको एकल एल्बम बजारमा ल्याएका थिए । लोक, पप र आधुनिक भाकाका सबै गीत समेटिएको सो एल्बम निकै लोकप्रिय पनि भएको थियो । दखिन गाउँदैनन् मात्र । गीत लेख्छन्, अनि संगीत पनि भर्छन् । उनले जिल्लाकै दुई कलाकारका एल्बममा पनि संगीत गरे । कल्याण घलेको ‘मखमली’ र विकास गुरुङको ‘विकास’ एल्बममा उनले संगीत भरेका हुन् ।
यो हिउँदभरमा केही गीतहरु सार्वजनिक गर्ने तयारी गरिरहेका उनी अहिले गीत लेखन र कम्पोजमा व्यस्त छन् । उनले सुनाए, ‘मेहनत गर्दैछु । सकेसम्म धेरैले रुचाउने गीत बनाउने कोशिस छ ।’

दखिन कुन मात्र वाद्ययन्त्र बजाउँदैनन् ? गीतार र किबोर्डजस्ता पाश्चात्य बाजादेखि सारंगी र बाँसुरी जस्ता लोकबाजाहरुमा पनि धुन भर्छन उनी । कुन संगीतकर्म गर्दैनन् ? आफै गीत लेख्छन्, संगीत भर्छन्, गाउँछन् पनि ।
तैपनि दुर्गम गाउँमै किन सीमित ? उनी घोत्लिए, र भने, ‘सबै भनेजस्तो नहुने रहेछ । मनले जे चाहन्छ, जहाँ रमाउँछ । त्यो पनि ठुलो रहेछ । कति कुरामा सम्झौता पनि गर्नुपर्ने रहेछ ।’ गाउँमै बसेर सिर्जना गरेको आफ्नो संगीत श्रोताहरुले मन पराएकोमा उनलाई खुशी र गर्व छ । घरव्यवहारका कारणले पनि गाउँमै बस्न बाध्य हुनुपरेको बताउने राई जीवनपर्यन्त संगीतमै लागिरहने बताउँछन् । ‘जानेकै संगीतकर्म हो । यही गर्छु । यसैमार्फत समाज र देशको सेवा गर्छु’, उनले जीवनको बाँकी योजना सुनाए ।

उनको परिवारका कोही पनि संगीत क्षेत्रमा पनि छैनन् । उनलाई भने नाताले दाजु पर्ने ठुलीआमाको छोरा पिके चाम्लिङले संगीत क्षेत्रमा लाग्न प्रेरित गरेका रहेछन् । दाजुकै प्रेरणाले यस क्षेत्रमा पाईला चालेका उनले स्कुले जीवनमा पनि विद्यालयमा हुने कार्यक्रमहरुमा गीत गाउँथे ।
आफुले संघर्ष गरेर आर्जन गरेको ज्ञान र सीप नयाँ पुस्ताका लागि सहयोगी बनोस् भन्ने उनको चाहाना छ । भन्छन्, ‘उल्लेखनीय उपलब्धि त छैन नै । तर दुख धेरै गरियो, र केही सिकियो पनि । यस क्षेत्रमा लाग्न चाहनेहरुलाई सहयोग गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस