परम्परागत सीपका उद्योग हराउँदै

भोजपुरको षडानन्द नगरपालिका वडा ४ दिङ्ला बजारमा लाग्ने बालाचतुर्दशी मेलामा बेच्न राखिएका राडीपाखी ।

साल्पासिलिछो र अरुण गाउँपालिकाका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । कच्चा पदार्थ प्रशस्त मात्रामा उत्पादन गर्न सकिने भए पनि बजार अभावमा उद्योग सञ्चालन गर्न समस्या भएको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा भेडाको ऊनबाट तयार पारिने राडीपाखी, लुकुनी, र घुमराडीलगायत सामग्रीले बजार नपाएपछि पछिल्लो समय उत्पादन हुन छाडिसकेको छ ।

त्यस्तै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, दोभाने, खाटम्मा र जिल्लाको पूर्वी अरुण गाउँपालिकाको जरायोटारमा विगतमा तयार पारिदै आइएको अल्लोका सामग्रीले समेत उचित बजार पाइरहेको छैन । अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने धुने लामो प्रक्रियाबाट सामग्री तयारी गर्नुपर्ने भएकाले श्रम धेरै लाग्ने गरेको तर बजार अभावमा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङले बताइन् ।

उनले भनिन्, ‘धेरै श्रम गरेर सामग्री उत्पादन गर्छौं तर गाउँमा बिक्री हुँदैन भोजपुर बजार पुग्न १ दिन हिँडेर गाडी चढ्नुपर्छ, त्यो पनि ग्राहकहरूले सस्तो मूल्यमा खोज्छन् । आफूले गरेको श्रमको मूल्य नै आउँदैन नाफा तपरको कुरा ।’

आफ्नो श्रमको पारिश्रमिक नउठेपछि उत्पादन गर्न मन मर्दै गएको छ । भौगोलिक विकटताबीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरू निर्माण गरे पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको मालतीले बताइन् । यसरी घरेलु उद्योगहरू बन्द हुँदै जाँदा भेडापालन गर्ने कृषक तथा अल्लो काडेर जीविकोपार्जन गर्नेहरूको समेत पेसा पनि संकटमा परेको छ ।

गत २० वर्षअघिसम्म व्यावसायिक रूपमा भेडापालन गरेर ऊनबाट राडीपाखी बनाउने गरेको साल्पासिलिछो गाउँपालिकाकी उपप्रमुख धन माया राईले बताइन् । उनले भनिन्, ‘आजभोलि कुनै कुनै घरहरूमा दुई चारवटा भेडाहरू पाल्ने गरेका छन् । राडीपाखी कम उत्पादन गर्छन् र उक्त सामानहरू घरमै आफंैले प्रयोग गर्ने गरेका छन् ।’

बजारमा सस्तो मूल्यमा प्लास्टिकका चकटी र गलैंचा पाइन थालेपछि राडीपाखी ओझेलमा परेको छ । राडीको महत्व बुझ्ने घटिसके । अहिलेको समयमा सस्तो मूल्यमा पााइने प्लास्टिकका चकटी र गलैंचाले बजारपिटेको छ ।

भेडाको ऊनमा कुनै पनि कच्चा पदार्थ नमिसाइ बनाइने हुँदा यो स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । राडीपाखी पूजा पाठ र घरमा ओछयाइने गरेको पाइन्छ । राडीपाखी आदिवासी नेवार तथा गुरुङ समुदायको धार्मिक आस्थासँग जोडिएको छ । हरेक धार्मिक र सांस्कृतिक पर्वमा राडी ओढ्ने र ओछयाउनका लागि चोखो मान्ने गरेको षडानन्द नगरपालिका वडा ४ की भीमकुमारी श्रेष्ठले बताइन् ।

यता घरेलु तथा साना उद्योग विकास समितिले भने अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगका रूपमा विकास गर्ने योजना रहेको जनाएको छ । राडी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्नका साथै तालिम सञ्चालन गर्ने घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका प्रमुख चेतननाथ गौतमले बताए ।

गौतमका अनुसार षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको अल्लो र राडीपाखी व्यवसायीलाई तालिम तथा निकट भविष्यमा नै औजार वितरण गरिने भएको छ । यसका साथै सदरमुकाम र विभिन्न जिल्लाका बजारहरूमा कोसेली घरको स्थापना गरी यसको बजारीकरण गरिने गौतमले बताए ।

कान्तिपुरबाट

प्रतिकृया दिनुहोस