थांकामा जीवन खोज्दै

 

जेष्ठ २६, 

भोजपुर, बैदार भञ्ज्याङका मोहन तामाङले विगत चार वर्ष देखि थांका चित्र कोर्दै आएका छन् । थांका चित्र कोर्न उनले भोजपुरबाट २०६४ सालमा सिकाइ सुरु गरेका थिए । जिल्लाको हिमालय महयान देछेन छ्योकी खोर्लो बौद्ध गुम्बाका गुरुहरुबाट सिकाई सुरु गरेपछी उनले ०७१ देखि व्यवसायिक चित्र कोर्न सुरु गरेका हुन् । 

उनले षडानन्द नगरपालिका भोजपुरको पेमा छ्योलिङ बौद्ध गुम्बामा पहिलो पटक थांका कोर्न सुरु गरेका हुन् । उनले त्यहाँ सांगे होपामे, फाक्पा चेन्रेसी, गुरु रिन्पोछे र सिठोका थांकाहरु कोरेका थिए । उनी थांका मात्र होइन मुर्तीकार समेत हुन् । सोही गुम्बामा उनले तीन फुट उचाईको सांगे होपामे, फाक्पा चेन्रेसी गुरु रिन्पोछेका मुर्ती समेत बनाएका छन् । 

भोजपुरका विभिन्न चार स्थानका गुम्बाहरुमा मुर्ती र थांका कोरेका तामाङले पछिल्लो समय संखुवासभा मूख्य थलो बनाएका छन् । यतिबेला उनी थांका कोर्नमा नै व्यस्त भेटिन्छन् । २०७३ यता निरन्तर संखुवासभा रहेका तामाङले चिचिला गाउँपालिका ४ कब्दाने, देउराली स्थित गुरु साङा छ्योलिङ बौद्ध गुम्बामा हालै मात्र थांका कोरी सकेका छन् । उक्त गुम्बामा गत वैशाख २० गते देखि थांका कोर्न सुरु गरेका तामाङले दुई जना सहयोगीका साथ जेष्ठ २१ गते सकाएका थिए । उनले साङा मेज्युङ, गौतम बुद्ध, फाक्पा चेन्रेसी, गुरु रिन्पोछे र सिठोका थांकाहरु कोरेका छन् । त्यहाँ स्थित थांका देखेर प्रभाव परे संगै अर्को स्थानमा समेत थांका कोर्न लगाइएको तामाङले बताए । त्यहाँ पनि थांका कोर्ने काम सुरु भई सकेको तामाङको भनाई छ । सोही स्थानमा समेत गौतम बुद्ध, चेन्रेसी र गुरु रिन्पोछेको मुर्ती बनाउन लागिएको तामाङले बताए ।

तर पछिल्लो पुस्तामा थांका कोर्नेहरु कमै मात्रामा भेटिने तामाङ बताउँछन् । थांकामा लेखिने चित्रहरु अहिले विभिन्न प्रविधिबाट ब्यानर र बोर्डहरुमा समेत आर्ट गरिन्छ, यस्ता बोडर्, ब्यानरहरु सस्तो मूल्य पर्ने भएकाले थांका चित्र लोप हुने स्थितिमा पुगेको तामाङको भनाई छ । उनका अनुसार व्यवसायिक रुपमा थांका कोर्न पनि मुस्किल छ । काम पाइरहँदा त पैसाको पनि राम्रै जोहो गर्न सकिन्छ, तर नियमित काम नहुँदा समस्या हुन्छ, उनले भने ।

थांका चित्र अहिले पनि मूल्यवान छ । विभिन्न गुम्बा र धार्मिक स्थलहरुको भित्तामा र कपडामा कोर्ने थांका समेत कम मूल्यको हुन्न । सुनको जलप गरिएका थांकाहरु लाखौं मूल्य पर्ने भएकाले यिनीहरु विदेशी मुलुक तर्फ विक्रि वितरण हुने गरेको छ । तर थांका लेख्नेहरुको संख्या पनि कमै छ । 

प्रतिकृया दिनुहोस