समाचार

कम्पनीका रूपमा दर्ता नहुने यातायात समितिको रुट परमिट खारेज गर्ने तयारी

news

 
मंसिर १९, 
सरकारले कम्पनीको रूपमा दर्ता नहुने यातायात समितिको रुट परमिट खारेज गर्ने तयारी गरेको छ । यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्न भन्दै यातायात समितिलाई कम्पनीको रूपमा दर्ता हुन दिएको समय सकिन लाग्दा अधिकांश ठूला व्यवसायी दर्ता हुन नआएपछि यातायात व्यवस्था विभागले यस्तो तयारी गरेको हो । देशभर साना र ठूला गरी चार लाखको हाराहारीमा सवारी साधन रहेकोमा हालसम्म ६ हजार सवारीसाधन मात्रै दर्ता भएको भन्दै विभागले यस्तो तयारी गरेको हो । यातायात क्षेत्रको सिन्डिकेट हटाउने उद्देश्यले सरकारले यातायात सम्बद्ध समितिलाई कम्पनीको रूपमा दर्ताहुन दिएको समयसीमा यसै मंसिर मसान्तमा सकिँदैछ । तर हालसम्म झन्डै १५ सयवटा समिति कम्पनीका रूपमा दर्ता भएपनि ती अधिकांश नयाँ भएको र प्राय ठूला अर्थात् धेरै सवारी साधन रहेका समिति दर्ता हुन बाँकी नै रहेका छन् । आफ्नो मातहतमा नआउने सवारी साधनलाई पुस १ गतेदेखि सञ्चालन गर्न नदिने विभागका प्रवक्ता गोकर्ण उपाध्यायले सीआईएनसँग बताउनुभयो । पहिले सरकारले साविकका यातायात समितिका चल अचल सम्पत्ति तथा कर्मचारी व्यवस्थापनबारे विचार गरिदिनुपर्ने र त्यसपछिमात्र कम्पनीमा रूपान्तरण सम्भव हुने नेपाल यातायात व्यवसायी महासंघले बताउँदै आएको छ ।