समाचार

काँग्रेसमा विधानमाथिको छलफल जटिल बन्दै, बैठक आज पनि

news

 
मंसिर २०, 
नेपाली कांग्रेसमा विधान माथिको छलफल जटिल बन्दै गएको छ । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष दुवैतर्फबाट असन्तुष्टि देखिएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी संख्या बढाउनुपर्ने आवाज उठेको छ । काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको संख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखेका थिए । यही मंसिर १३ गतेदेखि जारी काँग्रेसको केन्द्रीय समिति बैठक विधान संशोधन मस्यौदामा छलफल केन्द्रित छ । आज पनि बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा हालसम्म बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यले हालको पदाधिकारी संख्या नै यथावत राख्नुपर्ने तर्क गरिरहेका छन् भने पौडेल पक्षले केन्द्रीय सदस्य संख्या बढेसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने र महासमिति बैठकले पारित गरेपछि मात्र लागू हुनेछ । काँग्रेसको महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।