मझिया स्मृति कप महिला फुटबल : सातदोबाटो युथ क्लब ललितपुर सेमिफाइनलमा प्रवेश

संखुवासभा - इलामको ओएसिस क्लबलाई २-१ गोलले हराउदै ललितपुरको सातदोबाटो क्लब संखुवासभाको मादी मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप ’ आमन्त्रित महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

 

बुधबार सम्पन्न खेलमा तेस्रो मिनेटमै सातदोबाटोकी अञ्जना राईले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको २९ औँ मिनेटमा ओएसिस इलामले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्यायो । त्यसको दुई मिनेटपछि ३१ औँ मिनेटमा सातदोबाटो की सरिता नाथले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल हुन नसक्दा सातदोबाटोले खेल जित्दै सेमिफाइनलमा स्थान बनायो ।

 

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी सातदोबाटो युथ क्लबकी सरिता नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बिहीबार दिउँसो १२ बजे धरानको रेवाहाङ फेयर फुटबल क्लब र तेह्रथुमको फेदाप गाउँपालिका बीच हुनेछ ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल बिहिबार दिउँसो २:३० बजे पद्मा स्पोर्ट्स क्लब, ओखलढुङ्गा र सातदोबाटो युथ क्लब, ललितपुरबीच हुनेछ ।

प्रतिकृया दिनुहोस