२१३औँ भानुजयन्ती खाँदबारीमा

खाँदबारी - आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा सङ्खुवासभाको खाँदबारीमा आयोजित विशेष साहित्यिक समारोह भव्य रूपमा सम्पन्न भएको छ। मकालु साहित्यिक समाजको आयोजना तथा खाँदबारी नगरपालिका–१ वडा कार्यालयको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो।

 

मकालु साहित्यिक समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा लेखक रामप्रसाद लम्सालका दुई कृति ‘नमस्कार सर’ (निबन्ध सङ्ग्रह) र ‘स्मृतिका डोबहरू’ (संस्मरण सङ्गालो) को एकैसाथ लोकार्पण गरिएको थियो।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुर्‍याउँदै समाजलाई भाषिक रूपमा एकताबद्ध गर्न पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। उनले भाषा र साहित्यले समाजलाई जोड्ने सशक्त माध्यम भएको उल्लेख गरे।

 

खाँदबारी नगरपालिका–१ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले कला, भाषा र साहित्यको विकासमा मकालु साहित्यिक समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आदिकवि भानुभक्त आचार्य, मोतिराम भट्ट, सिद्धिचरण श्रेष्ठलगायतका स्रष्टाको योगदान नेपाली समाजले सदैव स्मरण गर्नुपर्ने धारणा राखे।

 

नवसाहित्यकार हिमालय पोख्रेलले भानुभक्तको भाषिक, साहित्यिक र सांस्कृतिक योगदानले नेपाली भाषा–साहित्यलाई एउटै सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका खेलेको बताए।

 

समारोहमा कविहरू कृष्ण जिमी (भरत), तारा घिमिरे, सुमन अधिकारी, केवल कार्की र सूर्यनारायण श्रेष्ठले आफ्ना कविता वाचन गर्दै आदिकविप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा जिल्लाका सुरक्षा निकाय, नागरिक समाज, साहित्यकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

लोकार्पित कृतिमाथिको परिचर्चामा समीक्षक भरत राई, फणिन्द्र खनाल, शेरबहादुर पुरी र सनम थापाले कृतिहरू मौलिक सामाजिक यथार्थमा आधारित रहेको उल्लेख गर्दै भाव, भाषा, संरचना र शैलीका दृष्टिले उत्कृष्ट रहेको प्रतिक्रिया दिए।

 

कार्यक्रमको समापन गर्दै सभापति तारा बहादुर बुढाथोकीले आफ्ना कृतिहरू ‘जिन्दगीका कुइनेटा’ (संस्मरण) र ‘बाउ’ (सामाजिक उपन्यास) प्रकाशनका क्रममा प्राप्त अनुभव साझा गरे। उनले संस्मरण लेखन अत्यन्त संवेदनशील विधा भएकाले सत्य प्रस्तुत गर्दा पनि सम्बन्धमा असर पर्न सक्ने र कल्पनाको मात्रा बढी हुँदा विश्वसनीयता कमजोर हुने भएकाले प्रत्येक वाक्य र भावप्रति लेखक सचेत हुनुपर्ने बताए।

प्रतिकृया दिनुहोस