संखुवासभाका १० वटै पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

संखुवासभा - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संखुवासभाका १० वटै स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ। जिल्लाका पाँच नगरपालिका र पाँच गाउँपालिकामा नेतृत्वसहित कार्यसमिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।
असोज ७ गते बुधबार देशभर एकैसाथ सम्पन्न पालिकास्तरीय अधिवेशनअन्तर्गत संखुवासभामा पनि सबै स्थानीय तहमा सहमतिमै नेतृत्व चयन भएको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ।
नेपाली कांग्रेस जिल्ला सचिव टकमान घलेका अनुसार जिल्लाका १० वटै पालिकामा सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएका छन्। खाँदबारी नगरपालिकाको सभापतिमा हेमन्त राई, धर्मदेवी नगरपालिकामा दिवश सोम्याङ, चैनपुर नगरपालिकामा लवकुमार श्रेष्ठ, मादी नगरपालिकामा कुलमणी दाहाल र पाँचखपन नगरपालिकामा टोपबहादुर तामाङ चयन भएका छन्।
त्यस्तै, सभापोखरी गाउँपालिकाको सभापतिमा मणिसुन्दर राई, चिचिला गाउँपालिकामा लगनकुमार राई, सिलिचोङ गाउँपालिकामा संयोगान्त कुलुङ, मकालु गाउँपालिकामा दुर्गा पराजुली र भोटखोला गाउँपालिकामा पेननुर्बु भोटे सर्वसम्मत चयन भएका छन्।
पालिकास्तरीय अधिवेशनमा नेतृत्व चयनसँगै सम्बन्धित पालिकाका कार्यसमिति पनि गठन गरिएको कांग्रेस जिल्ला सचिव घलेले जानकारी दिए। सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुनुलाई पार्टीभित्रको सहमति र एकताको संकेतका रूपमा हेरिएको केन्द्रीय सदस्य दीपनकुमार श्रेस्ले बताए ।
उनका अनुसार नेपाली कांग्रेसको केन्द्रीय सर्कुलरअनुसार असोज २ र ३ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ भने असोज ७ गते गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको हो।
अब पार्टीको महाधिवेशन कार्यतालिकाअनुसार असोज १० र ११ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ।

प्रतिकृया दिनुहोस