संखुवासभाका ७६ वटै वडामा अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

संखुवासभा — नेपाली कांग्रेसको संगठन विस्तार तथा आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने क्रममा संखुवासभाका ७६ वटै वडामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका सबै वडामा उत्साहजनक सहभागिताका बीच अधिवेशन सम्पन्न भएको र अधिकांश स्थानमा नेतृत्व चयनसमेत सर्वसम्मत रूपमा गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

केन्द्रीय सदस्य श्रेष्ठका अनुसार जिल्लाका ७६ वटै वडामा वडा अधिवेशन उत्साहजनक ढंगले सम्पन्न भएको हो। अधिवेशनमार्फत सबै वडाबाट अध्यक्षसहितको वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए। त्यस्तै, वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिसमेत सबै ठाउँमा निर्विरोध चयन भएको श्रेष्ठको भनाइ छ।

संखुवासभाका ७६ वटै वडामा अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको छ। सबै वडामा अध्यक्षसहित कार्यसमिति सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिहरू पनि सबै ठाउँमा निर्विरोध चयन भएका छन्,श्रेष्ठले भने वडा तहदेखि नै सहमति र सहकार्यको वातावरण बनेको छ, यसलाई जिल्लाको संगठनात्मक एकताका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको छ । अधिवेशनका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको र विभिन्न तहका कार्यकर्ताबीच समन्वय तथा समझदारी कायम भएको उनले बताए।

वडा अधिवेशन पार्टीको संगठनात्मक संरचनालाई स्थानीय तहसम्म थप व्यवस्थित बनाउने महत्वपूर्ण प्रक्रिया मानिन्छ। वडा तहमा नयाँ नेतृत्व चयनसँगै पार्टीका आगामी गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउन आधार तयार हुने कांग्रेस नेताहरूको भनाइ छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयनले पार्टीको माथिल्लो तहको अधिवेशन तथा संगठनात्मक गतिविधिका लागि समेत बाटो खुल्नेछ, उनले भने संखुवासभामा जिल्लाका विभिन्न भौगोलिक क्षेत्रमा रहेका वडाहरूमा एकै चरणमा अधिवेशन सम्पन्न गराउन पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गरेका थिए। भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रसमेत रहेको संखुवासभामा सबै वडामा अधिवेशन सम्पन्न हुनु संगठनात्मक रूपमा महत्वपूर्ण मानिएको छ।

अधिवेशनबाट चयन भएका नयाँ वडा नेतृत्वले अब स्थानीय स्तरमा पार्टीको संगठनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको उनले बताए । वडा तहमा कार्यकर्ता परिचालन, संगठन विस्तार तथा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारीसमेत नयाँ कार्यसमितिमा आएको छ, उनले भने क्षेत्रीय प्रतिनिधिहरूको समेत निर्विरोध चयन भएपछि जिल्लामा पार्टीभित्र सहमति र सहकार्यको वातावरण बनेको छ । वडा अधिवेशनमा देखिएको सर्वसम्मतिको अभ्यासलाई आगामी संगठनात्मक गतिविधिमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । 

केन्द्रीय सदस्य श्रेष्ठले अधिवेशन सफल बनाउन भूमिका खेल्ने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैलाई धन्यवादसमेत दिएका छन्। उनले वडा तहमा देखिएको उत्साहलाई आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउन उपयोग गरिने बताए।

संखुवासभाका ७६ वटै वडामा अध्यक्षसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएको विवरणले जिल्लाको पार्टी संगठनभित्र सहमतिको अभ्यासलाई प्राथमिकता दिइएको देखाएको छ। अब नवचयनित वडा नेतृत्व र प्रतिनिधिहरूले पार्टीका आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस