संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब, लोहरुङ पांमा ३–१ ले पराजित

संखुवासभा - संखुवासभाको खाँदबारीमा जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सेकाहा सामुदायिक क्लब प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

 

खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाका विनोद राईले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै १७औँ मिनेटमा सविन राईले गोल थप्दै सेकाहाको अग्रता दोब्बर बनाए।

 

दुई गोलले पछि परेको लोहरुङ क्लब पांमाले खेलमा फर्किने प्रयास गरे पनि ७७औँ मिनेटमा मिलन राईले एक गोल फर्काए। तर, खेलको ८०औँ मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेकाहाको जित सुनिश्चित गरे।

 

खेलको अन्तिम समयमा लोहरुङ क्लबका गोलरक्षक प्रमिज गच्छदारले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट निष्कासन गरेका थिए ।

 

 जितसँगै सेकाहा सामुदायिक क्लबले उपाधिका लागि सुनसरीको न्यू स्टार क्लबसँगको भेट पक्का गरेको छ। शुक्रबार दिउँसो हुने फाइनल खेलमा दुवै टोली उपाधिका लागि भिड्नेछन्।

 

सेकाहाले सेमिफाइनल प्रवेश गर्ने क्रममा सिरहाको सलेस युवा क्लबलाई पराजित गरेको थियो भने लोहरुङ क्लब पांमाले झापा–११ लाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

 

विभिन्न जिल्लाका आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

त्यसैगरी उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

अब शुक्रबार हुने फाइनलमा न्यू स्टार र सेकाहाबीचको भिडन्तसँगै संखुवासभा गोल्डकपको उपाधि कसले उचाल्ने भन्ने टुंगो लाग्नेछ।

प्रतिकृया दिनुहोस