तिमी आउनु त्यही बाटो, अरु आउनु साटो...

 

गायक सुजन चापागाईंले लोक र शास्त्रीय मिश्रित स्वरमा छुट्टै पहिचान बनाएका छन्
काठमाडौँ — सहजै गुनगुनाउन सकिने गीतहरूको भीडमा एउटा पृथक् आवाज । लोक र शास्त्रीय मिश्रित यो स्वर आफैंमा एउटा लय हो, धुन हो । सुरसँग सुजनले मितेरी गाँसिसके, तालसँग मित्रता ! यही सुर र तालको गहिरो साधनाबाट जन्मिएका गायक हुन्, सुजन चापागाईं ।


उनी युट्युब ट्रेन्डिङदेखि टिकटक लक्षित गरेर गीत बनाउँदैनन् । आफूलाई मनपर्ने गीत बनाउँछन्, गाउँछन् । कलामा हुनुपर्ने यस्तै तत्त्वले उनका गीत महिनौंसम्म युट्युब–टिकटकका ट्रेन्डिङमा पुग्छ । यी गीतले बिस्तारै हृदय–मस्तिष्क छुन्छ अनि महिनौंसम्म त्यही स्वाद जनजिब्रोमा अल्झिरहन्छ ।


एक महिनाअघि सुजनकै युट्युब च्यानलबाट बजारमा आएको ‘एक्लै भएनी’ ताजा उदाहरण हो । ‘स्याड भर्सन’ को यो गीतले एक महिनादेखि दर्शकको मन रुवाइरहेको छ । दुखेका मनहरू गीतका शब्द र भावमा समानुभूत हुन्छन् । सुजन आबद्ध ‘आर्टमान्डु’ ले अपनाउँदै आएको नौलो शैली हो– पहिला भिडियो खिच्ने अनि मात्र गीत लेख्ने । यही शैली नै ‘एक्लै भएनी’ मा पछ्याइएको छ ।

प्रेम वियोग, लामो दूरीका सम्बन्धले ल्याउने फाटो देखाउन यो गीतको भिडियो पहिला खिचिएको थियो । यही खिचिसकेको भिडियो हेर्दै गीतकार हर्क साउदले गीतका शब्द लेखे, सुजनले त्यसमा संगीत भरेर आवाज दिए । गीत बन्न ६ महिना लाग्यो । ‘हेर्दा यो गीत हामीले गरिरहेको गीतभन्दा फरक शैलीको देखिन्छ । गीत बनाउन समय पनि लाग्यो । गीत स्याड छ, फिलिङको पनि कुरा हुन्छ, यो त मेरो मात्र कथा होइन । साइग्रेसको मेरो अधुरो प्रेमका मीठा तत्त्वहरू मिसाइएका छन्,’ सुजन गीत निर्माणको समय सम्झन्छन् ।

प्रतिकृया दिनुहोस