खाँदबारीका ११ होटलमा प्रशासनको अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नियन्त्रणमा
खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाले सदरमुकाम खाँदबारीमा सोमबार होटल तथा खाद्य व्यवसायको अनुगमन गरेको छ। होटलमा बिक्री तथा वितरण हुने खानेकुराको गुणस्तरका विषयमा गुनासो आएपछि प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाँदबारी बजार क्षेत्रका ११ वटा होटल तथा खाद्य व्यवसायमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा अधिकांश होटलमा मूल्य सूची नराखिएको, व्यवसाय नवीकरण नगरिएको तथा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री प्रशासनले नियन्त्रणमा लिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने सामग्री होटल तथा पसलमा राखिएको पाइएपछि त्यस्ता सामग्री तत्काल हटाइएको उनले बताए।
अनुगमनका क्रममा होटल सञ्चालकलाई खाद्य सामग्रीको म्याद नियमित रूपमा जाँच गर्न, मूल्य सूची अनिवार्य रूपमा राख्न तथा व्यवसायसम्बन्धी आवश्यक कागजात अद्यावधिक गर्न निर्देशन दिइएको छ। उपभोक्तालाई गुणस्तरीय तथा स्वच्छ खाद्य सामग्री उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको प्रशासनले जनाएको छ।
प्रशासनले बजारमा बिक्री हुने खाद्य सामग्रीको गुणस्तर, मूल्य तथा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी मापदण्ड पालना भए–नभएको विषयमा आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ। अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको र पुनः अनुगमन गर्दा पनि नियम उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।




प्रतिकृया दिनुहोस