शिक्षक हत्या आरोपमा भरुवा बन्दुकसहित एक जना पक्राउ
संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा शिक्षक मृत फेला परेको घटनामा प्रहरीले शुक्रबार एक जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३५/३६ वर्षीय नरकुबिर खम्बु राई बिहीबार राति विद्यालय परिसरमै मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार बिहीबार राति खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाट बाहिर निस्कने क्रममा अचानक बन्दुक पड्किएको जस्तो आवाज आएको थियो। आवाज सुनेपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन्।
घटनाबारे बिहीबार राति करिब ११ बजे प्रहरी चौकी मकालुलाई जानकारी गराइएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी सहायक निरीक्षक मानबहादुर कार्कीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। त्यस्तै, प्रहरी चौकी नुमबाट प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको कमाण्डमा चार जनाको टोली पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा थप प्रहरी टोली घटनास्थलतर्फ खटाइएको थियो।
प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा मृतकको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट फेला परेको जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट करिब २५ किलोमिटर टाढा रहेको र पैदल यात्रा गर्दा करिब ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ।
शिक्षक नरकुबिर राईको मृत्युको वास्तविक कारण, घटनाको प्रकृति तथा भरुवा बन्दुक कसरी प्रयोग भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी कुमार प्रसाद मैनालीले बताएका छन्।




प्रतिकृया दिनुहोस