पूर्वमन्त्री दीपक खड्का को पक्राउप्रति कांग्रेसको कडा आपत्ति

संखुवासभा - नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का को नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो द्वारा गरिएको पक्राउप्रति नेपाली काँग्रेस संखुवासभा जिल्ला कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ।

जिल्ला कार्यसमितिले आईतबार जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध एक जिम्मेवार नेतामाथि गरिएको यस्तो कारबाही कानुनी प्रक्रिया नभई राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिएको ठहर गरिएको छ। साथै, राज्यका निकायहरूले निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्ने संवैधानिक दायित्वको उल्लंघन भएको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ कि कुनै पनि व्यक्तिमाथि आरोप लागेमा कानुनी प्रक्रिया अनुसार बोलाएर अनुसन्धान गर्नुपर्नेमा एक्कासी पक्राउ गर्ने शैलीले विधिको शासनमै प्रश्न उठाएको छ।

त्यसैगरी, केपी शर्मा ओली तथा रमेश लेखक सँग सम्बन्धित पछिल्ला घटनाहरू उल्लेख गर्दै राज्य शक्ति राजनीतिक प्रतिशोधका लागि प्रयोग भइरहेको आशंका व्यक्त गरिएको छ। फरक विचार राख्ने नेताहरूलाई लक्षित यस्ता गतिविधिले लोकतन्त्र कमजोर बनाउने चेतावनी पनि दिइएको छ।

 कार्यवाहक सभापति अनन्त कुमार गौली र जिल्ला सचिव कुमार बाबु अधिकारी द्वारा जारी विज्ञप्तीमा नेपाली काँग्रेस संखुवासभा जिल्ला कार्यसमितिले यस घटनालाई विपक्षी आवाज दबाउने प्रयास भन्दै तत्काल यस्ता गतिविधि रोक्न सरकारसँग माग गरिएको छ। साथै, पूर्वमन्त्री खड्का लगायत सम्बन्धित सबै नेताहरूलाई बिना शर्त तुरुन्त रिहा गर्न आग्रह गरिएको छ।

सुरक्षा निकायहरूलाई पनि कुनै राजनीतिक दबाबमा नपरी स्वतन्त्र, निष्पक्ष र कानुनी दायराभित्र रहेर काम गर्न अपिल गरिएको छ।

प्रतिकृया दिनुहोस