तराईमा बढ्दो तनावप्रति संखुवासभा उद्योग वाणिज्य संघको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम गर्न आह्वान
संखुवासभा — सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम र त्यसबाट उत्पन्न सामाजिक तनावप्रति संखुवासभा उद्योग वाणिज्य संघ, खाँदबारीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघका कार्यवाहक अध्यक्ष संजीव कुमार श्रेष्ठ (राजु)द्वारा शुक्रबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको जनाइएको छ।
संघले कुनै पनि बहानामा हुने हिंसा, झडप र सामाजिक अशान्तिले कसैको हित नगर्ने उल्लेख गर्दै यस्ता घटनाले सामाजिक सद्भाव बिथोलिनुका साथै सर्वसाधारणको जनजीवन, उद्योग, व्यापार तथा समग्र मुलुकको आर्थिक गतिविधिमा गम्भीर नकारात्मक प्रभाव पार्ने जनाएको छ। शान्ति र सामाजिक सद्भाव नै मुलुकको समृद्धि तथा आर्थिक विकासको आधार भएको संघको भनाइ छ।
संघले जनस्तरमा देखिएका मतभेद तथा असमझदारीको समाधान वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग जोडदार माग गरेको छ।
त्यसैगरी, भ्रम, उत्तेजना र अफवाहबाट टाढा रहँदै संयमता अपनाउन तथा परम्परादेखि कायम रहेको सामाजिक भाइचारालाई थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी र स्थानीय नेतृत्वलाई जिम्मेवार तथा सकारात्मक भूमिका निर्वाह गर्न संघले हार्दिक आह्वान गरेको छ।





प्रतिकृया दिनुहोस