संखुवासभाको खाँदबारीमा शनिबार ‘सुरताल म्युजिकल कन्सर्ट २०८३’ हुँदै

संखुवासभा - संखुवासभामा शनिबार साँझ ‘सुरताल म्युजिकल कन्सर्ट २०८३’ आयोजना हुने भएको छ। असल शासन क्लब, संखुवासभाको आयोजनामा असोज १७ गते खाँदबारी नगरपालिकाको रंगशालामा कन्सर्ट हुने भएको हो।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर असल शासनले कन्सर्टको प्रवेशद्वार शनिबार साँझ ६ बजेदेखि खुला हुने  जनाएको छ। संगीत र मनोरञ्जनसँगै लागुऔषधविरुद्ध जनचेतना फैलाउने, भ्रष्टाचारविरुद्ध आवाज उठाउने र बालबालिकाको उज्ज्वल भविष्यका लागि सचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष मनिष श्रेष्ठले बताए ।
कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, प्रकाश सपूत लगायतका कलाकार तथा सांगीतिक समूहको प्रस्तुति रहनेछ। त्यस्तै परम्परा ब्यान्ड, भाका नेपाल र दि फिरन्ते ब्यान्डको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।
कन्सर्टमा स्थानीय कलाकारको प्रस्तुति र सामाजिक नाटकसमेत रहनेछ, उनले भने स्थानीय कलाकारलाई अवसर दिने र सामाजिक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमलाई आकर्षक बनाउन भव्य स्टेज, साउन्ड सिस्टम र तीनवटा एलईडी स्क्रिनको व्यवस्था गरिएको छ ।
आयोजकले कार्यक्रम सफल बनाउन अभिभावक, युवा, विद्यार्थी, शिक्षक, व्यवसायी, सामाजिक संघसंस्था, स्थानीय सरकार, सञ्चारमाध्यम तथा आम नागरिकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
कन्सर्टको मुख्य सन्देश “लागुऔषधलाई होइन, भ्रष्टाचारलाई होइन, संगीतलाई हो, बालबालिकाको भविष्यलाई हो” अध्यक्ष श्रेष्ठले भने ।

प्रतिकृया दिनुहोस