संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित
संखुवासभा - १२औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले ६ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका उद्यमीलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा खाँदबारी नगरपालिका–५ की सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन्द्र राई, मादी नगरपालिकाका शिवराज कार्की, चिचिला गाउँपालिकाका ग्याल्जेन शेर्पा, सभापोखरी गाउँपालिकाका तीर्थराज कालाखेती र खाँदबारी नगरपालिका–९ की बिना राई रहेका छन् ।
सम्मानित उद्यमीमध्ये सुन्दरी गुरुङले झोलुङ्गे बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरी कागती, रुद्राक्ष, माछा, कुखुरा, केरा तथा बाख्रापालन गर्दै आएकी छन् । नविन्द्र राईले कागथला बहुउद्देश्यीय कृषि फार्ममार्फत बाख्रापालन, माछापालनलगायत कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् ।
त्यस्तै, शिवराज कार्कीले नमस्ते नेपाल अगरबत्ती तथा कृषि र पशुपालन फार्ममार्फत कुखुरापालन, अण्डा उत्पादन तथा माछापालन गर्दै आएका छन् । ग्याल्जेन शेर्पाले मत्स्यपोखरी जडीबुटी उत्पादन केन्द्रमार्फत बेसार, अम्रिसो तथा विभिन्न जडीबुटी उत्पादन गरिरहेका छन् ।
तीर्थराज कालाखेतीले सिर्जनशील नमुना बाख्रा व्यवसाय फार्ममार्फत बाख्रा तथा भेडापालन गर्दै आएका छन् भने बिना राईले अल्लो सुती कपडा उद्योग सञ्चालन गरी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी छन् ।
कार्यालयका उद्योग अधिकृत विजयकुमार मगरका अनुसार सम्मानित प्रत्येक उद्यमीलाई पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।
स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने उद्यमीको योगदानको कदर र प्रोत्साहनले जिल्लामा उद्यमशीलता विकास तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा उद्यमीहरूले स्थानीय उत्पादनको बजार विस्तार, बजारीकरणमा देखिएका समस्या तथा व्यवसाय प्रवर्द्धनका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकताबारे आफ्ना अनुभव र धारणा राखेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार संखुवासभामा हालसम्म ३ हजार ७०० उद्योग र १ हजार ६५४ वाणिज्य फर्म दर्ता भएका छन् । जिल्लामा कृषि, पशुपालन, जडीबुटी र परम्परागत सीपमा आधारित उद्योगको सम्भावना बढ्दै गएको अवस्थामा उद्यमीको सम्मानले स्थानीय उत्पादन र स्वरोजगार प्रवर्द्धनमा थप टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।






प्रतिकृया दिनुहोस