प्रदेशस्तरीय सेपाकताक्रो छनोटमा संखुवासभा उत्कृष्ट, जित्यो चार स्वर्ण

संखुवासभा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कोशी प्रदेशस्तरीय सेपाकताक्रो छनोट प्रतियोगितामा आयोजक संखुवासभा उत्कृष्ट बनेको छ । खाँदबारीमा सम्पन्न प्रतियोगितामा संखुवासभाले सर्वाधिक चार स्वर्ण र एक रजत पदक जित्दै आफ्नो वर्चस्व कायम गरेको हो ।

मंसिर ४ गतेदेखि सुरु भएको प्रतियोगितामा संखुवासभाले पुरुष रेगु, पुरुष डबल, महिला क्वार्ड र पुरुष क्वाड विधामा स्वर्ण पदक जितेको हो । त्यस्तै महिला डबलतर्फ रजत पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा सुनसरीले महिला रेगु र महिला डबलतर्फ गरी दुई स्वर्ण पदक जित्न सफल भयो । झापाले पुरुष रेगु, पुरुष डबल, पुरुष क्वाड र महिला क्वाड विधामा रजत पदक हात पार्‍यो । महिला डबलतर्फ झापा र भोजपुरले समान प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरे ।

प्रतियोगितामा पहिलोपटक सहभागी उदयपुरले महिला रेगुतर्फ रजत पदक जित्दा धनकुटाले पुरुष रेगु र पुरुष डबल विधामा कास्य पदक प्राप्त गरेको प्रमुख रेफ्री मेघराज तोलाङ्गले जानकारी दिए ।

संखुवासभामा पहिलोपटक प्रदेशस्तरीय सेपाकताक्रो छनोट प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले पहाडी जिल्लामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुनु गौरव र ऐतिहासिक उपलब्धि भएको बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै जिल्लाको खेलकुद पहिचानलाई प्रदेश तथा राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

प्रतिकृया दिनुहोस