‘निर्वाचीत भएको पहिलो बर्षदेखि नै खाँदबारी नगरपालिकाको विकासको शुरुवाती झल्को देखिने छ ।’ - महेश थपलिया मेयर, खाँदबारी नगरपालिका

भर्खरै सम्पन्न स्थानीय तह २०७९ को बैशाख ३० गते खाँदबारी नगरपालिकाको मेयर पदमा खाँदबारी नगरपालिका–८ स्थायी घर भएका महेश थपलिया निर्वाचीत भएका छन् । नेपाली काँग्रेस पुराना नेताको रुपमा समेत चिरपरिचीत थपलियाले खाँदबारी नगरपालिकाको मेयर पदमा निर्वाचीत भएपछि के कस्ता योजनाहरु अगाडि सार्ने तयारीमा छन् । यस्तै बिषयबस्तु भित्र केन्द्रित रहेर पत्रकार नवीन गुरुङले गरेको कुराकानीका सार अंश :

१.मेयर सावलाई भर्खरै निर्वाचीत बन्नुभएको छ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ?
—धन्यवाद ।
२. तपाई निर्वाचीत भएर आउनु भएपछि अब खाँदबारी नगरपालिकालाई कस्तो बनाउने भन्ने के छ धारणा ?
—सबैभन्दा पहिले खाँदबारी नगरपालिका समृद्ध बन्नुपर्छ भन्ने मेरो छ । त्यो पनि सबै सेक्टरबाट समृद्ध बन्नुपर्छ भन्ने हाम्रो चाहाना हो । यो चाहाना अनुरुप हामीले खाँदबारी नगरपालिकालाई तत् तत् क्षेत्रबाट कसरी खाँदबारी नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर अभियानमा जुटेका छौ । तथापि, हाम्रो निती तथा कार्यक्रम आईसकेको छैन् । १० गते हाम्रो निती तथा कार्यक्रम आउदैछ । यस सन्दर्भमा हामीले सोचीरहेको चीज के हो भने सबैभन्दा ठूलो कुरो शैक्षिक क्षेत्र हो । शैक्षिक क्षेत्रलाई ब्यबस्थित नबनाए सम्म र शैक्षिक क्षेत्रलाई रोजगारीमा नजोडे सम्म, ब्याबसायिक नबनाए सम्म आत्मनिर्भरमुखी शिक्षा प्रदान गर्न सकेनौ भने हामी नगरपालिकालाई अगाडि बढाउन सक्दैनौ । त्यसैले हामीले प्रत्येक स्कुललाई प्राविधिक शिक्षा तर्फ उन्मुख गराउने, त्यसमा नगरपालिकाले के गर्दा अपग्रेड गराउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान आकृष्ट भएको छ । कक्षा १ देखी ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन शुरुवात गराउने स्कुललाई नगरबाट प्रोत्साहन कार्यक्रम ल्याउने योजना छ । त्यसका साथै अर्को कुरा नगरबासीका आधारभुत कुराहरु हामीले कति परिपूर्ति ग¥यौ भन्ने हो । त्यसमा खानेपानीका सवालमा, विद्युली, टेलिफोनको सवालमा, बाटाघाटाका सवालमा हामीले के कति काम ग¥यौ यो सबैभन्दा मनन् योग्य कुरा छ ।
यहाँ देखिएका खानेपानी ब्यबस्थापनका लागि अबका दुई बर्षभित्र नगरभित्रका सबै मानिसहरुको घरघरमा खानेपानीको ब्यबस्थापन गर्नुपर्छ भनेर प्रतिबद्ध भएर लागेको छु ।

३. तपाई भर्खरै मात्र निर्वाचीत भएर आउनुभएको छ, करिब यो एक/डेढ महिनाको अवधिमा नतिजा खोजी हाल्नुपनि मिलेन तर तपाईले काम देखाउनका लागि नीति तथा कार्यक्रम आउनै लागेको छ, त्यसैले जनताको जीवनस्तर परिवर्तनका लागि ठोस योजना के ल्याउदै हुनुहुन्छ ?
—हामीले सबैभन्दा पहिले आधारभुत आवश्यकताहरु परिपूर्ति हुनुपर्छ भन्ने मान्यता राखेका छौ । त्यसैले कुनै पनि घरमा मासिक रुपमा थोरै भएपनि आम्दानी हुनुपर्छ भन्ने तर्फ केन्द्रित छौ । त्यो चाहे नगदे बालीबाट होस, चाहे अर्को बालीबाट होस, चाहे रोजगारीबाट होस, ब्याबसाय उद्योग, कलकारखानाबाट जे बाट होस आम्दानी चाँही हुनपर्छ । त्यो मानिस आर्थिक आम्दानीसँग जोडिनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो मान्यता पुरा गर्न गर्नका लागि नगरका सबैभन्दा तल्लो तह भनेको टोल विकास संस्था हो । त्यो टोल विकास संस्थालाई उत्पादनसँग जोड्ने र त्यो उत्पादनलाई सहकारीसँग जोड्ने हो । हामीले प्रत्येक वडामा सहकारी स्थापना गर्नेछौ र त्यो सहकारीले गाउँमा उत्पादन भएका चीजहरुको मार्केटिङ गर्नेछ । ति सहकारीहरुलाई नगरपालिकाले सहयोग गर्नेछ । त्यसपछि किसान आफैले मार्केटिङ गर्न कुद्न पदैन, सहकारीले खरिद गरिदिन्छ र सहकारी नगरपालिकाको अन्डरमा रहने ब्यबस्था हुन्छ । किसानहरुको सजिलोका लागि हामीले वडामा नै सहकारी बैंक स्थापना गर्ने लक्ष्य राखेका छौ । सहकारीले साँच्चिकै किसानलाई ऋण दिएर उत्पादन बढाउनमा मद्धत गर्नेछौ । त्यो समृद्धिले चाँही समग्र रुपमा नगरको समृद्धिलाई मद्धत गर्छ भन्ने हामीले लक्ष्य लिएका छौ ।

४. शिक्षा, कृषि र जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रम बाहेक अन्य ठोस कार्यक्रमहरु के–के छन् ?
—खाँदबारी नगरपालिका कम आयआर्जन तथा आम्दानी हुने नगरपालिका हो । यहाँको आम्दानीका स्रोतहरु ब्ढाउन प्रयत्नशील छौ । चतराबाट मनकामना सम्म पानीबोट संचालन गर्ने यसले नगरबासीलाई फाइदा पनि भयो र नगरपालिकाको आम्दानीका स्रोत पनि बढ्ने भए । त्यसैगरि ४ नम्बर वडामा माउटेनिङ्ग इन्सिचियुड (हिमाल सम्बन्धी अध्ययन गर्ने केन्द्र) जस्ता कार्यक्रम ल्याउन सक्छौ । ग्राम औधोगिक क्षेत्रको स्थापना गर्ने, कोशी ल्हासा राजमार्गले चीनसँग जोडिने भएकाले खाँदबारी देखि माथिल्लो भागमा सुख्खा बन्दरगाह स्थापना गर्ने यसले ब्याबसायिकताको हिसाबले पनि मद्धत गर्छ भने मानिसहरुले रोजगारी समेत पाउनेछन् । कम्प्युनिष्ट नेताको नाममा रहेको नरबहादुर कर्माचार्य फाउण्डेसन खाँदबारीमा स्थापना गर्न साथीहरु लागिरहनु भएको छ । जिओमेट्रिक इन्जिनिरिङले पनि यहाँ मद्धत गर्छ र प्राविधिक अमिन लगायतका जनशक्तिहरु उत्पादन हुन्छ भन्ने लाग्छ । अहिले हामीसँग भएका स्कुलहरु मध्ये तुम्लिङ्गटारका स्कुलले इन्जिजियर तर्फ र मानेभञ्जाङ्गमा रहेका स्कुलले कृषि प्राविधिक उत्पादन गरिरहेको छ । यि स्कुलहरुलाई नगरले पछि सम्म सँगसँगै लिएर जानेछौ । त्यसका साथै अन्य स्कुलहरुलाई पनि प्राविधिक शिक्षा तर्फ उन्मुख गराउनेछौ । प्राविधिक शिक्षाले त्यो ब्यक्ति दक्ष बनाउछ, उ आफु आत्मनिर्भर भएपछि उसले परिवार हेर्न सक्छ भन्ने मान्यता राखेका छौ ।
त्यसपछि हामी आउने बित्तिकै हाटबजारमा कृषिजन्य बस्तुमा लाग्ने कर हटाएका छौ । त्यसपछि काठमाडौ गएर धेरै वटा मन्त्रालयमा भेटघाट गर्ने र योजना माग गर्ने काम ग¥यौ । प्रदेश मन्त्रालय पुगेर योजनाका बारेमा कुराकानी गरेका छौ । आवश्यकता अनुसार डिपिआर बनाउने कुरा अगाडि बढाएका छौ । रोयले बेसी देखि लिफिङ्ग खानेपानी, चेवाबेसी देखी झरिथुम्का लिफिङ्ग खानेपानी योजना अगाडि बढाइएको छ । बाटाघाटा र पूर्वाधारका क्षेत्रमा समेत अगाडि बढिरहेका छौ ।

५. खाँदबारी नगरपालिका जिल्लाका १० वटा पालिका मध्ये सबैभन्दा महत्वपुर्ण र जेठो पालिका समेत हो । नगरभित्रका बजारहरुलाई ब्यबस्थित गर्नका लागि तपाईका योजनाहरु के छन् ?
—एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो यसका लागि धन्यवाद । यस नगरभित्रका महत्वपूर्ण तथा प्रमुख बजारहरु खाँदबारी, तुम्लिङटार र मानेभञ्जाङ्ग हुन् । यि बजारहरुलाई ब्यबस्थित र आकर्षित बनाउनुपर्छ भन्ने हाम्रो योजना छ । तुम्लिङ्गटार एयरर्पोटमा झर्ने बित्तिकै तुम्लिङ्गटारमा सुचना केन्द्र स्थापना गर्ने लक्ष्य छ । त्यसमा धार्मिक क्षेत्र, पर्यटन, हिमाल आरोहण, विभिन्न जातीय भेषभूषा र समुदायको बारेमा जानकारी दिने उद्धेश्यका साथ स्थापना हुनेछ । त्यसपछि सभाखोला देखि छयाङकुटी सम्म हाईवेको दुवै तर्फ रुखहरु रोप्ने कार्यक्रम अगाडि बढाइनेछ । तुम्लिङटार देखि मानेभञ्जाङ्ग सम्म मुख्य बजारमा सौर्य बत्ती जडानलाई अझ प्राथमिकता दिने र घर अगाडि प्रत्येक दुई वटा विरुवा रोप्नु पर्ने, घरका बार्दली र कौशीमा गमलामा फुल रोप्ने कार्यक्रम संचालन गर्ने जसले राम्रो गर्नुहुन्छ उहाँलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्ने कार्यक्रम राख्नेछौ । त्यसैगरि नगरभित्र बोट बिरुवा लगाउँदा पर्यावरणलाई समेत राम्रो गरोस र पर्यटन समेत बढोस भन्ने हाम्रो उद्धेश्य छ । जस्तै, हामीले लगाई रहेको कटुस, चिलाउने, पात्ले भन्दा ओलिभको रुख रोप्दा फाइदा छ । अगरको बोट रोप्दा हुन्छ । माथिल्लो भागमा ओलिभ हुन्छ भने तल्लो भूभागमा अगर हुन्छ । बोटबिरुवाबाट समेत फाइदा लिन सकिने रुखहरु रोप्नुपर्छ भन्ने हो । यो खेती कर्णाली र पश्चिमाञ्चल क्षेत्रमा भईरहेको छ तर हामीले यसबाट फाइदा लिन सकिरहेको छैनौ । त्यसैले त्यो बिरुवा यहाँ पनि खेती गर्नुपर्छ भन्ने योजना छ । त्यसले यहाँको ग्रेनरी सिटीको रुपमा समेत विकास हुन्छ भन्ने लाग्छ । खाँदबारी आउने बित्तिकै सबै मानिसहरुको आर्कषणको केन्द्र पनि बन्दछ ।
त्यसपछि खाँदबारी पोखरीपार्कको ब्यबस्थापन गर्नेछौ । ढोलबाजेको जंगल पार्कलाई ब्यबस्थापन गर्नेछौ । त्यसपछि रमिते–थालेडाँडा–लहरीखर्क–हरेलोडाँडा लगायतका पर्यटकीय संम्भावना बोकेको क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा मनकामना धाम देखि अन्य थुप्रै ठाउँहरुको बिकास गर्नेछौ । नगर क्षेत्र भित्र पर्यटकीय केन्द्रविन्दु बनाउन लागिपरेका छौ ।
यहाँ मात्रै होइन खाँदबारीको लिंक त चिचिला, सभापोखरी, भोटखोला, मकालु, सिलिचोङ गाउँपालिका छ । यि सबै गाउँपालिकाको इन्ट्री पोइन्ट त खाँदबारी नै हो नी, त्यसैले सबै गाउँपालिकाहरुसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेका छौ । त्यसरी सहकार्यमा काम गर्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई फाइदा नै हुन्छ भन्ने लाग्छ । त्यसपछि खाँदबारी नगरपालिकालाई प्लाष्टिक मुक्त क्षेत्रको रुपमा अगाडि बढाउदैछौ । यसैगरि हामीले थुप्रै योजनाहरु अगाडि सारेका छौ । नगरको राजश्व बृद्धिका लागि निजी क्षेत्र र ब्याबसायिक मानिसहरुसँग पनि छलफल र होमवर्क गरिरहेका छौ । तुम्लिङटार—छयाङकुटी नगरबस संचालनका लागि उद्योग वाणिज्य संघसँग छलफलमा छौ । ५१ र ४९ प्रतिशत लगानीमा नगरबस संचालन गर्नुपर्छ भन्ने मान्यता बोकेका छौ । उद्योग वाणिज्य संघसँग धेरै वटा बिषयमा सहकार्य गरेर अगाडि बढ्न सक्छौ भन्ने लागेको छ । खाँदबारीका उद्योगी, ब्यापारी र ब्याबसायीलाई सँगै जोडेर लाँदा समृद्ध नगरपालिकाको समृद्धि हुन्छ भन्ने हाम्रा सोचाई छ ।

६. खाँदबारी नगरपालिकाको आन्तरिक आय बढाउनका लागि के–के गदै हुनुहुन्छ ?
–नगरको आन्तरिक आय बढाउनका लागि नगरपालिका आफै मजबुद हुनपर्छ भनेर लागेका छौ । केही कुराहरुलाई महत्वकाँक्षी रुपमा अगाडि सारेका छौ । जडीबुटी प्रशोधन केन्द्र खाँदबारी नगरपालिकामा नै स्थापना गर्नका लागि परेका छौ । केही संस्थाहरुसँग सहकार्यका लागि कुराकानी अगाडि बढाएका छौ । त्यसमा हामीले पतञ्जलीसँग कुराकानी अगाडि बढाएका छौ । ब्याबसायिक साथीहरुलाई करको दायरामा अनिवार्य ल्याउने, घर बहाल करको दायरा फराकिलो बनाउने लगायतका विभिन्न किसिमका योजना उद्योग वाणिज्य संघसँग आबद्ध भएर काम गर्ने भनेर छलफल भईरहेको छ । यसले समग्र नगरको आय आर्जन र आम्दानी स्रोत बढाउन सकिन्छ भन्ने लाग्दछ ।

७. खाँदबारी नगरभित्रका ११ वटै वडा कार्यालय जोडिने सडकहरुको ब्यबस्थापनका लागि के गदै हुनुहुन्छ ?
—नगर भित्र रहेको मुख्य तीन वटा सडकहरु रहेका छन् । मानेभञ्जाङ–हेलुवाबेसी सडक, खाँदबारी–बडरेनी—चैनपुर सडक र अर्को खाँदबारी–लेब्राङ्ग–धुपू डके सडक हुन् । यि सडकहरुलाई पिच गर्न लागि परेका छन् । मानेभञ्जाङ–हेलुवाबेसी सडक पिचको काम अगाडि बढेको छ । अब तत्कालै खाँदबारी–बडरेनी सडक पिचको लागि टेण्डर खुल्दैछ । खाँदबारी–लेब्राङ्ग कलचे–धुपू डके सडकका लागि प्रदेश मन्त्रालयमा माग गरेका छौ । त्यहाँबाट कति बजेट आउँछ त्यसपछि नगर आफैले पनि बजेट बिनियोजन गरेर कालोपत्रेका लागि काम अगाडि बढाउछौ । यि तीन वटै बाटो जोडीसकेपछि सहज हुनेछ । ति मुख्य सडकबाट वडा कार्यालय सम्म पुग्ने सबै सडक कालोपत्रे गर्ने योजना छ ।
खाँदबारीकै समृद्धिका लागि धेरै नेताहरुसँग कुराकानी गरियो, मन्त्रालय गइयो । त्यसैको प्रतिफल स्वरुप अहिले २२ करोड रुपैया तुम्लिङटार एयरपोर्टका लागि बिनियोजित भएर आएको छ । साउन देखि लगभग काम शुरु हुनेछ । यसले धावनमार्गको पिच थप गर्ने र वरिपरि बत्ती जडान गर्ने र दशै पछाडी देखि ७२ सिटे जहाजको नियमित उडान गर्ने तयारी छ । यस पछि संखुवासभामा पर्यटकको पनि बृद्धि हुन्छ भन्ने लाग्छ ।

८. खाँदबारी नगरपालिकालाई अब पाँच बर्ष भित्र हामी कस्तो नगरपालिका पाउँछौ ?
–सबैभन्दा पहिले नगरभित्रका विद्यालयलाई प्राविधिक शिक्षालय तर्फ अगाडि बढाउने योजना छ । दोस्रो अबको दुई बर्ष भित्र प्रत्येक नगरबासीको घरघरमा खानेपानी पुग्नेछ । तेस्रो हरेक मानिसलाई उत्पादन र रोजगारीसँगै जोडेर आत्मनिर्भर बनाउने योजना छ ।
यो काम गर्नका लागि हामी आउनुभन्दा अगाडि २२/२४ लाख रुपैया बजेट दिएका वडाहरुलाई अब यो बर्षबाट एक/एक करोड रुपैया बजेट दिने योजना छ । त्यसपछि वडाको पूर्वाधार बिकास गर्न अलि सहज होला भन्ने लागेको छ । त्यसपछि वडाध्यक्ष र सदस्यहरु समेत अलि बढि जिम्मेवार बन्नेछन् । अब हरेक काम छोडेर एक दिन टाढा बिजुलीको बिल तिर्न जानु पर्ने बाध्यता हटाएर अब वडाबाट नै बिजुलीको बिल तिर्ने ब्यबस्थापन गदैछौ । एक वडा एक पशुसेवा भेटरिनरि राख्ने तयारीमा छौ । एकदिन हिडेर खाँदबारी आउनुपर्ने बाध्यतालाई हटाएर अब सामाजिक सुरक्षा भत्ता लगायत बृद्धभत्ता देखि सबै भत्ताहरु वडाबाट नै वितरण गर्ने तयारी गदैछौ । यसले वडाबासीहरुलाई धेरै फाइदा पुग्छ भन्ने ठानेको छु ।
अब सुत्केरी भत्ता दुई हजार दिने गरेकोमा अब तीन हजार रुपैया दिने योजना अघि सारेका छौ । ८० बर्षमाथिका जेष्ठ नागरिक र पूर्ण अपाङग ब्यक्तिलाई चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेका छौ । त्यसका साथै एकल महिला र (ग) बर्गका अपाङ्ग ब्यक्तिहरुलाई समेत चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेका छौ । यसरी विभिन्न किसिमबाट नगरबासीहरुलाई सेवासुविधा सहज तरिकाले उपलब्ध गराउने गरि अगाडि बढेका छौ ।

९. तपाईको पालामा नियमित आइरहने बजेट भन्दा केन्द्रिय लिंकको हिसाबले केही बजेट बढि ल्याउन सक्ने संम्भावना के कति छ ?
—हो, म ल्याउन सक्छु । नियमित आउने बजेट भन्दा १५÷२० करोड रुपैया त्यतिकै बढि आउँछ । म निर्वाचीत हुने बित्तिकै काठमाडौ संघीय राजधानी र बिराटनगर प्रदेश राजधानी पुगेर भेटघाट र छलफल गरेको छु । यो बर्ष नै १५/२० करोड रुपैया बढि बजेट आउने नै छ भन्नेमा म विश्वस्त छु । त्यसपछि पुरक बजेट पनि आउने नै छ । म निर्वाचीत भईसकेपछि मन्त्रालय पुग्दा त्यहाँ पनि बजेटहरु सकिसकेको अवस्था थियो । त्यसैले बढि बजेट ल्याउन सक्ने अवस्था रहेन । अलि–अलि थोर बहुत बजेट ब्यबस्थापन चाँही गरेर आएका छौ । हामीलाई बाटाघाटा र खानेपानी लगायतमा थुप्रै बजेटको आवश्यकता छ । खाँदबारीको ढल निकासका लागि चाँही ७४ करोड रुपैया कमफर्म गरेर आएका छौ । त्यो बजेट अहिले नै आउने की आगामी आर्थिक बर्षमा आउने भन्ने चाँही कमफर्म गर्न बाँकी छ किनकी हामीसँग ढल निकासको डिपिआर तयारी अवस्थामा नभएकाले मनत्रालयमा समयसिमा भित्र डिपिआर पु¥याउन सकेनौ ।
खाँदबारी नगरपालिकामा म निर्वाचीत भएर आएपछि संघ र प्रदेशको बजेट ल्याउन सक्छु भन्ने त छदैछ । त्यसका साथै सरकारले समेत हेर्ने भनेको खाँदबारी नगरपालिका भनेको जिल्लाको सदरमुकामको नगरपालिका हो । सदरमुकामको नगरपालिका भएपनि आम्दानीको स्रोत छैन् । यहाँ ठूला कलकारखाना पनि छैनन् । त्यसैले अरुण तेस्रो मेगाप्रोजेक्ट भएपनि अब यसले खाँदबारी नगरपालिकालाई पनि केही सहयोग गर्नुपर्छ भन्ने धारणा राखेका छौ । यहाँका जंगल फडानी गरेको छ, बाटोघाटो प्रयोग भएको छ त्यसैले छलफल गर्नेछौ । अरुण तेस्रो, इप्सुवा हाइड्रो र अर्को सभा हाइड्रो छ । केहीदिन अगाडि इर्खुवा र चिर्खुवा हाइड्रोले जबरजस्त ढंगले तुम्लिङटारमा सामान झारेको छ । नगरपालिकासँग कुनै सहकार्य छैन् । यि कुराहरुलाई समेत अब नगरपालिकाले कसरी राजश्व लिने भनेर आम्दानीको स्रोत बनाउने तर्फ केन्द्रित भएको छ ।

१०. कार्यक्रमको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
—सबैभन्दा पहिले खाँदबारी नगरपालिकाको मेयरमा निर्वाचीत गराउनुभएकोमा सम्पूर्ण नगरबासी आमाबुबा, दाजुभाइ, दिदिबैनी सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दछु । अब हामी मानिसहरुको आधारभुत आवश्यकताहरु खानेपानीको ब्यबस्थापन गर्नेछौ, बाटाघाटा र पूर्वाधारका क्षेत्रमा सुधार गर्नेछौ । बिजुलीबत्तीको ब्यबस्थापनमा जुटनेछौ । मानिसहरुको आवश्यकता परिपूर्ति गर्न तर्फ अगाडि बढ्नेछौ । प्राविधिक शिक्षा र रोजगारमुलक शिक्षा तर्फ हाम्रो चासो बढेको छ । हामी नगरबासीहरुलाई उत्पादनसँग जोड्न चाहान्छौ । उद्योग कलकारखाना तर्फ अगाडि बढाउन चाहान्छौ । विगतका दिनहरुमा भन्दा अबका पाँच बर्षमा हामी पक्कै पनि नगरपालिकाको समृद्धिका लागि काम गर्नेछौ । हामी आएको पहिलो नै बर्ष अब खाँदबारी नगरपालिका माथि उठ्ने रहेछ भन्ने झलकहरु दिनेछौ । पहिले बर्ष नै तुम्लिङटार—छयाङकुटी, हेलुवाबेसी—खाँदबारी, खाँदबारी–बडरेनी नगरबस संचालन गछौ । सुशासन तर्फ खाँदबारी नगरपालिका भित्र देखिएका बेथितीहरु हटाउछु ।

नगरको काम गर्ने क्रममा काँही कतै कसैलाई समस्या परेमा सिधै नगर प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधीहरुलाई सम्पर्क गर्नुहोला । हामी सबैभर तपाईको सेवामा तत्पर रहनेछौ भन्ने प्रतिबद्धता ब्यक्त गर्दछु । धन्यवाद ।

प्रतिकृया दिनुहोस