मिर्गौलापीडित बालकको उपचारका लागि सहयोगको याचना
खोटाङ — मिर्गौलापीडित एक बालकका आफन्तले सहयोगको याचना गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ११ वर्षीय राजन मंग्रातीको उपचारका लागि उनका अभिभावकले सहयोगको याचना गरेका हुन् ।
राजनको बायाँपट्टिको मिर्गौला बिग्रिएपछि उपचारका लागि सहयोगको याचना गरेको उनकी आमा चन्द्रकुमारी मंग्रातीले बताइन् । ५–६ वर्षदेखि बिरामी परेको र पछिल्लो समयमा सिकिस्त भएपछि कात्तिक २१ गते दिक्तेलस्थित फेमिली केयर अस्पतालमा उपचारमा लैजाँदा बायाँ मिर्गौलामा खराबी आएकाले सुविधा सम्पन्न अस्पताल लैजाने सल्लाह दिएको उनले बताइन् ।
‘श्रीमान तीन वर्षअघि बित्नुभयो,’ उनले भनिन्, ‘अब जीवनको सहारा भनेकै यही हो । यो पनि बिरामी भएपछि उपचार गर्ने पैसा छैन ।' उनको उपचारका लागि सञ्जयकुमार राईले दश हजार एक सय ५५ रूपैयाँ सोमबार सहयोग गरेका छन् ।
‘दसैं तिहार चेलीलाई उपहार’ अभियानमा संकलन भएको एक लाख १६ हजार ३० रूपैयाँमध्ये एक लाख पाँच हजार आठ सय ७५ रूपैयाँ खर्च गरी बचेको रकम उपचारका लागि दिएको राईले बताए।
अन्य सहयोग पनि जुटाउन सहयोग गर्ने राईले बताए । मंग्राती स्थानीय महेन्द्रोदय माविमा कक्षा-५ मा अध्ययन गर्छन् ।







प्रतिकृया दिनुहोस