मधेशका अस्पताल आफैं ‘कोमा’ मा : पित्तथैलीको शल्यक्रिया गराएकी महिला ६७ दिनदेखि अचेत
जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको पत्थरी शल्यक्रियाका क्रममा बेहोस भएकी पत्नी पविताकुमारीको होस फर्कने प्रतीक्षामा राजधानीको सिनामंगलस्थित केएमसी अस्पतालको आईसीयूबाहिर कुरिरहेका सर्लाही हरिपुर्वाका अंगेशकुमार यादव । तस्बिर : स्वरूप आचार्य/कान्तिपुर
भारतमा मजदुरी गर्ने श्रीमान् आईसीयूको ढोकामा
शल्यक्रिया गर्ने जनकपुरको मुस्कान अस्पतालले दियो १ लाख मात्र क्षतिपूर्ति, काठमाडौंसम्म ल्याएर उपचार गर्दा १६ लाख खर्च
जनकपुरधाम — सर्लाही हरिपुर्वाका २४ वर्षका अंगेशकुमार यादव १ फागुनदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को आईसीयूबाहिर कुरेर बसिरहेका छन् । ६७ दिनदेखि अचेत २४ वर्षीया श्रीमती पविताकुमारी यादवको होस फर्किने आशा उनले मारेका छैनन्, तर उनलाई विश्वस्त बनाउने कोही छैन ।
पुसको मध्यतिर अत्यधिक पेट दुखेपछि जाँच गराउन जनकपुर पुगेकी उनको अल्ट्रासाउन्ड गराउँदा पित्तथैलीमा ढुंगा रहेको पत्ता लागेको थियो । शल्यक्रिया गरेर पित्तथैली झिक्न ३ माघमा उनलाई जनकपुरस्थित मुस्कान अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनलाई शल्यक्रिया कक्षभित्र लगेर बेहोस पारिएको थियो, त्यसपछि उनको होस फिरेको छैन ।
होस फर्काउन उनलाई तीन दिनसम्म मुस्कान अस्पतालले नै राख्यो, ६ माघमा भने जानकी हेल्थ केयरमा सारिएको थियो । जानकीमा २७ दिनसम्म राख्दा पनि अवस्था सुधार नभएपछि भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर पवितालाई काठमाडौंस्थित वीर अस्पताल पुर्याइयो । तर, वीरमा भेन्टिलेटरयुक्त आईसीयू बेड खाली नभएको भन्दै केएमसी रेफर गरियो । सुरुका साता उनी मुर्छामा छटपटाउँथिन् ।
पछि शान्त भइन्, तर हलचल केही छैन । एक सातादेखि उनले आँखा उघारेकी छिन् । तर सास फेर्न भने उनलाई भेन्टिलेटरकै सहायता अनिवार्य छ ।
केएमसी न्युरोलोजी विभागका प्रमुख डा. पारस रायमाझीका अनुसार जनकपुरबाट ल्याउँदाभन्दा पविताको अवस्थामा केही सुधार छ । ‘तर, होस कहिले आउँछ भनेर यसै भन्न सकिन्न,’ उनी भन्छन्, ‘बिस्तारै भेन्टिलेटरको सहायता घटाउँदै लगेका छौं । भेन्टिलेटर आवश्यक नपर्ने अवस्था बन्यो भने मात्रै डिस्चार्ज गर्न सक्छौं ।’
यसरी महिनौं अस्पतालको खर्च धान्ने र बेरोजगार बस्न सक्ने अंगेशको आर्थिक अवस्था होइन । उनी त भारतको हैदरावादमा मजदुरी गरिरहेका थिए । श्रीमती बेहोस भएको ६ दिनपछि माघ ९ मा मात्रै उनलाई थाहा भयो । ‘मलाई कसैले पनि केही भनेको थिएन । श्रीमती अस्पतालमा बेहोस थिइन् । आमाले फोन लगाउन सक्नुहुन्न, त्यसैले कुराकानी गर्नै ढिला भयो,’ उनी भन्छन्, ‘एक दिन फोन लाग्नासाथ आमाले बुहारी त मरिसकी, छिटो आइज भनेर बोलाउनुभयो ।’
उनी तुरुन्तै गाडी चढेर जनकपुर पुगेका थिए । कसरी जनकपुर आइपुगें भन्ने उनलाई थाहा छैन । उनले सुनेजस्तै श्रीमतीको ज्यान गएको थिएन, तर म जीवित छु भन्ने अवस्थामा पनि उनी थिइनन् । जीवनको यो कठिन मोडमा उनी उपचारका लागि गरेको प्रयासबाटै पछुतो मान्छन् ।
‘जथाभावी खुलेका अस्पतालको मलाई भरोसा थिएन । त्यसैले श्रीमतीलाई काठमाडौं गएर उपचार गराउनुपर्छ भनेको थिएँ । तर मेरो भिनाजुले पित्तथैलीमा ढुंगासँगै क्यान्सर पनि हुन सक्ने बताएपछि श्रीमती आत्तिएकी थिई,’ उनले भने, ‘आफ्नो मामाको छोरा क्यान्सर भएर मृत्यु भएको देखेपछि पविताको डर बढेको थियो । तुरुन्तै गर्ने भनेर हठ गर्न थाली र भिनाजुले अस्पतालमा पुर्याइदिनुभयो, जहाँ यस्तो भयो ।’
पविताको शल्यक्रिया मुस्कान अस्पतालमा डा. ज्ञानकुमार साहले गरेका हुन् । शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस पार्ने औषधि) दिने विशेषज्ञ चिकित्सक अनिवार्य हुनुपर्छ । तर, पवितालाई बेहोस पार्ने औषधि कुन चिकित्सकले चलाएका हुन् भन्ने अस्पतालले स्पष्ट पार्न सकेको छैन । तर सोधखोज सुरु भएपछि डा. साहको फोन बन्द छ, उनी सम्पर्कविहीन छन् ।
पविताको उपचारको अभिलेख हेरेका एक चिकित्सकका अनुसार भने उनलाई बेहोस बनाउने औषधि दिँदा नै गडबड भएका कारण ‘हाइपोक्सिक ब्रेन इन्जुरी’ भएको सम्भावना बढी देखिन्छ । ‘हामीले यत्तिकै भन्न मिलेन तर दिमागमा अक्सिजन नपुगेर ब्रेन इन्जुरी भएको छ, त्यसको कारण एनेस्थेसिया दिँदा तलमाथि भयो भन्ने नै हो,’ ती चिकित्सक भन्छन्, ‘बेहोस बनाउन कुन औषधि दिइएको थियो ? शल्यक्रिया अवधिभर बिरामीको शरीरमा अक्सिजनको मात्रा के थियो ? यो सबै मनिटर गर्नुपर्ने हुन्छ । जसको विस्तृत जानकारी छैन । खासमा शल्यक्रिया गर्दा एनेस्थेसिस्ट नै थिए कि थिएनन् भन्ने यकिन छैन ।’
अस्पतालले यतिसम्म लापरबाही गर्न सक्छन् ? पत्याउन गाह्रो छ । तर, अंगेशको परिवार अहिले अस्पतालको लापरबाहीको मूल्य चुकाउँदै छ । ‘घरमा आर्थिक अवस्था सजिलो छैन । तर म अब काममा जाने भनेर सोच्न नसक्ने भएँ । श्रीमतीको कहिले होस आउँछ भन्ने डाक्टरलाई पनि अनुमान छैन,’ उनी भन्छन्, ‘म कसलाई के भनिरहेको छु, त्यो नै बिर्सिन थालेको छु । कोसँग के भाषा बोल्ने भन्ने पनि हेक्का हराएको छ । हिन्दी, मैथिली र नेपाली भाषामा अल्झिन थालेको छु ।’
पविताको अवस्थाले मधेश प्रदेशकै स्वास्थ्य संस्थाको ‘स्वास्थ्य’ को तस्बिर प्रस्ट पारेको छ ।
यो घटना सार्वजनिक भएपछि मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मधेशका कम्तीमा एक सय निजी अस्पताल गैरकानुनी रूपमा र मापदण्डविपरीत चलेको भेटिएको छ । कैफियत भेटिएका अस्पताल अहिले बन्द गरिएका छन् । धनुषामा २२, सर्लाहीमा २४, रौतहटमा २१, महोत्तरीमा ५, सप्तरीमा २ र पर्सामा १ यस्ता अस्पताल भेटिए, जसलाई अहिले बन्द गरिएको छ ।
मापदण्डविपरीत खोलिएका अस्पताल अहिले बन्द गरिएका छन् । तर समस्याको स्थायी सम्बोधन कसरी हुन्छ भन्ने प्रश्न पनि उठेको छ । जनकपुर अञ्चल (हाल प्रादेशिक) अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्टका साथै संविधानसभा सदस्य रहिसकेका वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंह मधेशका निजी अस्पताल समस्याग्रस्त रहेको बताउँछन्। तर, उनका अनुसार अस्पताल वा स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिलाई मुख्यमन्त्रीको अनुगमन मात्रैले सुधार्न भने सम्भव छैन । ‘मुख्यमन्त्रीले जे गरिरहनुभएको छ त्यो पूर्ण रूपमा बेठिक छ पनि म भन्दिनँ । तर, मुख्य कुरा भनेको यहाँका स्वास्थ्य संस्थाको अनुगमनको जिम्मा लिएका निकायहरूले के गरिरहेका छन् भन्ने हो,’ उनी भन्छन्, ‘यो अवस्थामा सुधार गर्न स्थानीय र प्रदेश तहमा रहेका अनुगमन संयन्त्रलाई सक्रिय बनाउनुपर्छ । नभए अहिले मुख्यमन्त्रीको अभियान सेलाएर जान्छ, अस्पतालको अवस्था उस्तै रहन्छ ।’
मुख्यमन्त्री सिंह भने कर्मचारी तहबाट कहिलेकाहीं हुने अनुगमनलाई बीचमै दबाइने गरिएकाले यस्तो बेथिति रहेको बताउँछन् । ‘कर्मचारी लेबलमा हुने गरेको थोरबहुत अनुगमनलाई सायद नेतृत्वकै इसारामा अवरोध गरिएको थियो । कुनै अस्पतालहरूका विषयमा चुप लागेर बस भनिएको होला । दरिलो अनुगमन नहुँदा जसले जे गर्दा पनि केही नहुने रहेछ भन्ने भ्रम पलाएको थियो । त्यसैले त दर्ताबिना नै अस्पतालहरू निर्बाध सञ्चालनमा थिए,’ उनी भन्छन् ।
मुख्यमन्त्रीको यति ठूलो अभियानबीच पनि अंगेश र पविताले सान्त्वना पाएका छैनन् । अंगेश उपचारका लागि रकम जोहो गर्न भौंतारिरहेका छन् भने पविता होसमा आउन नै संघर्षरत छिन् । अंगेशका अनुसार पविता बेहोस भएको ६५ दिनयता मात्रै करिब १६ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘अब त गाउँकाले ऋण पत्याउन पनि छोडे । भएको ५/६ कट्ठा जग्गा पनि सकियो । केही बाँकी छैन,’ भन्छन्, ‘पवितालाई यो अवस्थामा पुर्याउने अस्पतालले एक लाख मात्रै दिएको छ अहिलेसम्म । बाँकी उपचार कसरी गर्ने भन्ने सोच्न पनि सकेको छैन ।’
अंगेशले जग्गाजमिन अरूलाई जिम्मा लगाइसके । तर, केएमसीको फार्मेसीमा तिर्नुपर्ने रकम १ लाख २० हजार पुगेको छ । थप औषधिका लागि फार्मेसीले डिपोजिट पनि थप्न भनेको छ । तर, उनलाई खाना–खाजाकै रकम अपुग हुन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार अहिले उपचारका लागि मुस्कान अस्पतालले सहयोग गर्ने र पविताको स्वास्थ्य अवस्थाका आधारमा बाँकी क्षतिपूर्तिको टुंगो लगाउने सहमति भएको थियो । उनका अनुसार हाललाई अस्पतालले उपचार खर्चबापत ५ लाख दिने सहमति भएको थियो । तर अंगेशका अनुसार भने एक लाख दिएर अस्पतालका सञ्चालकहरू सम्पर्कविहीन भएका छन् ।







प्रतिकृया दिनुहोस