ब्रडपिक आरोहणका क्रममा संखुवासभाका दुई युवा आरोहीको निधन

संखुवासभा — पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्राडपिक हिमाल आरोहणका क्रममा संखुवासभाको मकालु गाउँपालिकाका दुई युवा तथा अनुभवी  हिमाल आरोहीको निधन भएको छ। मकालु गाउँपालिका–२, च्याक्सेडॉडाका ३६ वर्षीय निमा शेर्पा र मकालु गाउँपालिका–१, तालखर्कका २९ वर्षीय नवाङग थेन्दु शेर्पाको आरोहणका क्रममा भएको हो । उनीहरुको असामयिक निधनले मकालु गाउँपालिका मात्र नभई समग्र पर्वतारोहण क्षेत्र शोकमा डुबेको छ।
सामान्य किसान परिवारमा जन्मिएका निमा शेर्पा मेहनती, इमान्दार र साहसी युवा आरोहीका रूपमा परिचित थिए। उनी एलाइट एक्स्पिडिसनमार्फत ब्राडपिक हिमाल आरोहणका लागि पाकिस्तान पुगेका थिए। हिमाल आरोहणलाई आफ्नो पेशा र जीवनको लक्ष्य बनाएका उनले छोटो समयमै उत्कृष्ट आरोहीका रूपमा परिचय बनाउन सफल भएका थिए।
मकालु गाउँपालिकाका अध्यक्ष वाङ्दी छिरिङ शेर्पाका अनुसार यस वर्ष मात्रै निमा शेर्पाले ८ हजार मिटरभन्दा अग्ला चारवटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए। त्यसपछि अर्को चुनौतीका रूपमा उनले ब्राडपिक आरोहण रोजेका थिए। ट्रेकिङ क्षेत्रबाट आफ्नो यात्रा सुरु गरेका उनले लगन, अनुशासन र अथक परिश्रमका कारण अन्तर्राष्ट्रिय हिमाल आरोहण क्षेत्रमा समेत राम्रो पहिचान बनाएका थिए।
अध्यक्ष शेर्पाका अनुसार निमा विवाहित थिए। उनका एक छोरा र एक छोरी छन्। केही दिनअघि मात्रै उनकी श्रीमती काठमाडौं गएकी थिइन्। हिमालसँग गहिरो सम्बन्ध रहेको दुई परिवारले  होनहार सदस्य गुमाउँदा गाउँ नै शोकमा डुबेको अध्यक्ष शेर्पाले बताए।
यस्तै, मकालु गाउँपालिका–१, तालखर्कका २९ वर्षीय नवाङग थेन्दु शेर्पाको पनि सोही ब्राडपिक हिमाल आरोहणका क्रममा निधन भएको छ। उनी सेभेन समिट ट्रेकमार्फत आरोहणमा सहभागी भएका थिए। सानै उमेरदेखि हिमालसँग नजिकिएका नवाङगले ८ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल आरोहण गरिसकेका थिए। अनुभव, साहस र समर्पणका कारण उनी सम्भावनाशील युवा आरोहीका रूपमा परिचित थिए, अध्यक्ष शेर्पाले भने अविवाहित रहेका नवाङग हिमाल आरोहणसँग गहिरो सम्बन्ध भएको परिवारका सदस्य पनि थिए। उनका अनुसार उनका बुवा तथा तीनजना दाजुभाइ अनुभवी हिमाल आरोही हुन्। परिवारका सबै सदस्यले ८ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल आरोहण गरिसकेका छन्। यही पारिवारिक वातावरण र प्रेरणाले नवाङगलाई पनि सानैदेखि हिमाल आरोहणतर्फ आकर्षित गरेको थियो, अध्यक्ष शेर्पाले भने नवाङगले निरन्तर कठिन हिमालहरू आरोहण गर्दै आफ्नो अनुभव विस्तार गरेका थिए।
नवाङगको परिवार बसोबास गर्ने मकालु गाउँपालिका–१ को दुर्गम तालखर्क बस्तीमा हालसम्म सहज सञ्चार सुविधा नपुगेको अध्यक्ष शेर्पाले जानकारी दिए। दुर्गम भौगोलिक अवस्थाका कारण परिवारसँग सम्पर्क कायम गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भइरहेको उनले बताए।
दुवै आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष वाङ्दी छिरिङ शेर्पाले मकालु गाउँपालिकाले दुई साहसी, इमान्दार, अनुशासित र ठूलो सम्भावना बोकेका युवा गुमाएको बताए। उनले निमा शेर्पाले हिमाल आरोहणमार्फत गाउँपालिका र नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै नवाङग थेन्दु शेर्पाको साहस, समर्पण र अनुभवलाई नेपाली पर्वतारोहण क्षेत्रले लामो समयसम्म स्मरण गर्ने विश्वास व्यक्त गरे।
विश्वका जोखिमपूर्ण हिमालहरूमध्ये एक मानिने ब्राडपिकमा दुई नेपाली युवा आरोही गुमाउनु पर्वतारोहण क्षेत्रका लागि ठूलो क्षति भएको उनले बताए ।

प्रतिकृया दिनुहोस