खाँदवारीबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सुरु, ‘जनतामाझ पुगेर पार्टीलाई पुनर्जागृत गर्नुपर्छ’

खाँदवारी, भदौ ५ — नेकपा (एमाले) खाँदवारी नगर कमिटीले ‘मिसन पार्टी जागरण अभियान–२०८३’ को शुक्रबारबाट सुरु भएको छ । पार्टी सदस्यता विस्तार, संगठित सदस्यता नवीकरण र संगठन पुनर्संरचनालाई केन्द्रमा राखिएको अभियान अब नगरका सबै ११ वटै वडामा सञ्चालन हुने भएको छ।

अभियानको उद्घाटन गर्दै एमालेका पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले अभियानले पार्टीलाई नयाँ गति र स्पष्ट दिशानिर्देश दिने विश्वास व्यक्त गरे। उनले पार्टी र आन्दोलनले सामना गरिरहेका चुनौतीबीच कार्यकर्ताले जनतामाझ पुगेर जनविश्वास पुनः जित्नुपर्नेमा जोड दिए।

जनताका कुरा सुन्ने, जनप्रिय बन्ने र जनसंगठनको प्रभावकारी परिचालन गर्दै जनबलका आधारमा एमालेलाई थप सुदृढ बनाउनुपर्छ, गौतमले भने। नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनसँगै राष्ट्रिय सार्वभौमिकतासमेत चुनौतीको अवस्थामा छ । उनले संविधानको रक्षा, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एमालेको सुदृढीकरण अहिलेको आवश्यकता भएको बताए।

नगर कमिटीका अध्यक्ष देबेन्द्र घिमिरेका अनुसार अभियानले पार्टीलाई नेतामुखीभन्दा जनतामुखी, व्यक्तिमुखीभन्दा नीतिमुखी तथा जडभन्दा गतिशील र भविष्यमुखी शक्तिका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। अभियानअन्तर्गत संगठनात्मक पुनर्संरचना, युवा केन्द्रित कार्यक्रम, जनमुखी एजेन्डा, पार्टी अनुशासन, पारदर्शिता, आन्तरिक लोकतन्त्र, डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकता दिइने उनले बताए ।

जिल्ला अध्यक्ष खड्गबहादुर राईले अभियानको औचित्य र आवश्यकता स्पष्ट पार्दै आगामी पालिका तथा प्रदेशसभा निर्वाचनको तयारीका रूपमा अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे। प्रदेश सदस्य तथा नगर इन्चार्ज सुन्दरी खतिवडाले कार्यकर्ताको जिम्मेवारी र अभियानको महत्वबारे धारणा राखिन् ।

कार्यक्रममा नगरका ११ वटै वडा कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरूले वडाको गतिविधिसहित प्रतिवेदन प्रस्तुत गरेका थिए। माथिल्लो कमिटी, नगर कमिटी, वडा कमिटी, स्थानीय जनप्रतिनिधि, जनसंगठनका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा वडास्तरीय अभियानको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

नगर कमिटी अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपसचिव चन्द्रकला तामाङले गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस