खाँदबारीमा भदौ १४ गते जात्रा विशेष सांगीतिक कार्यक्रम हुने
संखुवासभा–मौलिक कला, संस्कृति, परम्परा र पर्यटनको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाँदबारी युथ क्लबले यस वर्ष पनि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेवारी समुदायको मौलिक सांस्कृतिक पर्व लाखेजात्रा, गाईजात्रा तथा हिलेजात्राको अवसर पारेर क्लबले ‘लाखेजात्रा, गाईजात्रा तथा हिलेजात्रा विशेष सांगीतिक कार्यक्रम–२०८३’ आयोजना गर्न लागेको हो ।
कार्यक्रमबारे जानकारी दिन क्लबले शनिबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै यस पटकको जात्रा तथा १४ गते गरिने सांगीतिक कार्यक्रम विगतका वर्षभन्दा थप व्यवस्थित, मनोरञ्जनात्मक र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी भइरहेको जनाएको छ । जिल्लाको मौलिक पहिचानसँग जोडिएका कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउँदै स्थानीय पर्यटन र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ । त्यस्तै, नेवारी समुदायको परम्परागत लाखे नाच, नेवारी नाच तथा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक दीपकिरण शाक्यले बताए । स्थानीय मौलिकता, हास्यव्यंग्य र सामाजिक सन्देशसमेत समेटिएको प्रहसनले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने उनले बताए ।
कार्यक्रम स्थलमा स्थानीय तथा विभिन्न जातजातिका मौलिक परिकारको प्रदर्शनीसमेत गरिने भएको छ । स्थानीय खानाका परिकार, हस्तकला तथा उत्पादनको प्रवद्र्धनका लागि व्यापारिक स्टल राखिने आयोजकले जनाएको छ । यसले स्थानीय उत्पादनको बजारीकरणसँगै घरेलु तथा साना व्यवसायमा आबद्ध नागरिकलाई आफ्नो उत्पादन र सेवाको प्रचारप्रसार गर्ने अवसर प्रदान गर्ने उनले बताए ।
खाँदबारी युथ क्लबले विगतदेखि नै जिल्लाको कला, संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनमा केन्द्रित विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका अध्यक्ष सुरेन शाक्यले पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम बढ्दै जाँदा मौलिक संस्कृति र परम्परागत अभ्यासहरू नयाँ पुस्ताबाट टाढिँदै जान सक्ने भएकाले यस्ता कार्यक्रमको आवश्यकता अझ बढेको बताए । उनका अनुसार कार्यक्रममार्फत संखुवासभाको सांस्कृतिक विविधता र मौलिक परम्परालाई बाहिरी जिल्लासम्म परिचित गराउने प्रयाससमेत गरिनेछ ।





प्रतिकृया दिनुहोस