संखुवासभामा नेपाल संवत् ११४७ को स्वागत

संखुवासभा - नेपाल संवत् ११४७ को स्वागतमा संखुवासभाको सदरमुकाम खाँदबारीमा नेवा देय दबुको आयोजनामा बाजागाजासहित मंगलबार भिन्तुना र्‍याली निकालिएको छ।

 

नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न बाजागाजासहित निकालिएको र्‍यालीले खाँदबारी बजारका विभिन्न स्थानको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले नेपाल संवत् नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

 

 भिन्तुना र्‍याली नयाँ वर्षको स्वागतमा सीमित नभई पुर्खादेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृति, भेषभूषा, कला, बाजागाजा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा समेत स्थापित हुँदै आएको खाँदबारी नेवा देय दबुका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए ।

 

र्‍यालीपछि आयोजित सभामा सहभागी वक्ताहरूले यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराप्रति परिचित गराउनुका साथै समुदायबीच आपसी सद्भाव, आत्मीयता र एकतालाई थप बलियो बनाउने बताए।

 

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्न सक्ने भएकाले यसको संरक्षण र पुस्तान्तरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस