कोशी प्रदेशका १४ जिल्लाका ४५ लाई अम्पायर डेभलपमेण्ट तालिम
संखुवासभा - ब्याडमिन्टन खेलको गुणस्तरीय सञ्चालन, निष्पक्ष निर्णायक प्रणालीको विकास गर्न खाँदबारीमा सञ्चालन गरिएको पाँचदिने कोशी प्रदेशस्तरीय अम्पायर डेभलपमेन्ट तथा रिफ्रेस तालिम सकिएको छ ।
मंगलबार सम्पन्न तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर, प्रशिक्षक तथा खेलकर्मीको सहभागिता थियो । अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव दीपक थापाले प्रशिक्षण दिएका थिए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग, कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा तथा संखुवासभा ब्याडमिन्टन संघको सह–आयोजनामा जेठ १५ गतेदेखि सञ्चालन भएको थियो ।
तालिममा अन्तर्राष्ट्रियस्तरमा लागू भएका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यवहारिक अभ्यास, खेल व्यवस्थापन तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । बढ्दो प्रतिस्पर्धासँगै ब्याडमिन्टन खेललाई थप व्यवस्थित, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउन दक्ष अम्पायर तथा प्राविधिक जनशक्तिको आवश्यकता महसुस गर्दै तालिम आयोजना गरिएको हो ।
खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले तालिम सफलतापूर्वक पूरा गर्ने सम्पूर्ण सहभागीलाई बधाई दिए । उनले प्राप्त ज्ञान, सीप र अनुभवलाई खेलकुद क्षेत्रको विकासमा उपयोग गर्न आग्रह गरे ।
ब्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको उनले बताए ।
दक्ष अम्पायर उत्पादन बिना खेलको स्तरवृद्धि सम्भव नहुने उल्लेख गर्दै संखुवासभा ब्याडमिन्टन संघका सचिव रुद्रमणि श्रेष्ठले यस्ता तालिमले प्रदेशभर खेलकुदको व्यावसायिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
खेलकर्मीहरूका अनुसार नेपालमा ब्याडमिन्टन खेलप्रति युवापुस्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । खेलाडी उत्पादनसँगै प्रशिक्षक, अम्पायर र प्राविधिक जनशक्तिको क्षमता विकास भएमा प्रदेश तथा राष्ट्रियस्तरमा प्रतियोगिताको गुणस्तर समेत उकासिने छ, उनले भने कोशी प्रदेशका अम्पायरहरूको दक्षता अभिवृद्धि गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य प्राविधिक जनशक्ति उत्पादनमा टेवा पुग्ने छ ।







प्रतिकृया दिनुहोस