भलिबलमा योगदान पुर्याउने संखुवासभाका ७ खेलाडी सम्मानित
संखुवासभा — जिल्ला भलिबल संघ संखुवासभाको १०औँ अधिवेशनका अवसरमा जिल्लाको भलिबल क्षेत्रमा योगदान पुर्याएका सात जना खेलाडी शनिबार सम्मानित भएका छन्।
सम्मानित हुने खेलाडीहरूमा गजेन्द्र घले, सन्दिप लिम्बु, इसाक तामाङ, पुजन कटुवाल, अनिल दर्जी, विशाल विक र सुमन राई रहेका छन्। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि भलिवल संघका केन्द्रीय सदस्य प्रविण श्रेष्ठ लगायतले सम्मान गरेका हुन्।
अधिवेशनमा जिल्ला भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले संघले हालसम्म सञ्चालन गरेका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराए। उनले जिल्लामा भलिबल खेलको विकास र विस्तारका लागि संघको आर्थिक आधारलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष घिमिरेले खेल क्षेत्रको विकासका लागि स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र, उद्योगी–व्यवसायी, पूर्वखेलाडी तथा खेलप्रेमीहरूसँग सहकार्य र समन्वय विस्तार गर्नुपर्ने बताए। आर्थिक स्रोतको सुनिश्चितता भएमा जिल्लामा भलिबलसम्बन्धी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो।
उनले संघले आगामी दिनमा नियमित रूपमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने, प्रतिभावान खेलाडीको पहिचान गरी प्रशिक्षण दिने, आवश्यक खेल सामग्रीको व्यवस्थापन गर्ने तथा खेलाडी र प्रशिक्षकको क्षमता विकासमा लगानी गर्ने नीति अघि सार्नुपर्नेमा समेत जोड दिएका छन् ।
जिल्लामा भलिबलप्रतिको आकर्षण बढ्दै गइरहेको अवस्थामा खेलाडीको प्रतिभा पहिचानदेखि प्रशिक्षण र प्रतियोगितासम्मका गतिविधिलाई निरन्तरता दिन सके संखुवासभाले प्रदेश तथा राष्ट्रियस्तरमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्ने उनले बताए ।







प्रतिकृया दिनुहोस