प्रथम पुरस्कार ५ लाख रासीको संखुवासभा गोल्ड कप फुटबल हुने

संखुवासभा - एड्भान्स क्लबको आयोजनामा ‘ संखुवासभा गोल्ड कप फुटबल प्रतियोगिता आगामी कार्तिक १४ गतेदेखि २० गतेसम्म खाँदबारीको मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको छ ।

‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले संखुवासभामा फुटबलको विकाससँगै खेलाडीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

एड्भान्स क्लबले स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरुण कपलाई २०६४ सालदेखि परिमार्जन गर्दै अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको थियो। पूर्वी पहाडी जिल्लामै महत्वपूर्ण प्रतियोगिताका रूपमा पहिचान बनाएको उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै संखुवासभा गोल्ड कप नामकरण गरिएको आयोजकको भनाइ छ।

प्रतियोगितामा संखुवासभा जिल्लाभित्रका चार ए डिभिजन क्लब, राष्ट्रिय ए डिभिजन क्लब तथा छिमेकी जिल्लाका ए डिभिजन क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। 

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि पुरस्कारतर्फ मात्रै कुल आठ लाख ८७ हजार रुपैयाँ खर्च हुने आयोजकको जनाएका छन् ।

एड्भान्स क्लबका अध्यक्ष प्रकाश घिमिरेले प्रतियोगिताले संखुवासभाको खेल क्षेत्रलाई राष्ट्रियस्तरमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। प्रतियोगिता संयोजक जिल्लामान राईका अनुसार खेलकुदमार्फत युवा एकता, सामाजिक सद्भाव र सकारात्मक संस्कृतिको विकास गर्दै स्थानीय खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

संखुवासभामा लामो इतिहास बोकेको फुटबल प्रतियोगिताले नयाँ नाम र स्वरूप प्राप्त गरेसँगै यस वर्षको गोल्ड कपलाई जिल्लाकै प्रमुख खेल महोत्सवका रूपमा हेरिएको छ, उनले भने स्थानीय दर्शकदेखि राष्ट्रियस्तरका फुटबलप्रेमीसम्मको आकर्षण बढाउने तयारीमा जुटेका छौं । 

प्रतिकृया दिनुहोस