संविधान दिवसमा खाँदबारीमा विविध कार्यक्रम : म्याराथनदेखि दीप प्रज्वलनसम्म

 संखुवासभा । संविधान दिवस २०८३ को अवसरमा संखुवासभाको सदरमुकाम खाँदबारीमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाको समन्वयमा सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, बुद्धिजीवी तथा नागरिक समाजको उपस्थितिमा बुधबार बसेको बैठकले संविधान दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेको हो।

 असोज २ गते बिहान ६ः३० बजे म्याराथन दौड आयोजना गरिनेछ। खाँदबारी–१ स्थित टुँडिखेलबाट लभिङ हिल्सम्म दौड सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी बिहान ७ बजे टुँडिखेलदेखि बसपार्कसम्म नगर सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। 

प्रमुख जिल्ला अधिकारी डा डिजन भटराइका अनुसार असोज ३ गते बिहान ९ बजे प्रभातफेरी आयोजना गरिनेछ। जिल्ला प्रशासन कार्यालयको गेटबाट सुरु हुने प्रभातफेरी जिल्ला समन्वय समितिसम्म पुग्नेछ।

संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ। कार्यक्रममा ‘नेपालको संविधान र नेपाली समाजको रूपान्तरण’ विषयमा छलफल तथा अन्तरक्रिया गरिने जनाइएको छ।

यस्तै, बेलुका ६ बजे पोखरी बजारमा दीप प्रज्वलन गरिनेछ। जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका आफ्नै कार्यालय परिसरमा पनि साँझ दीप प्रज्वलन गर्ने निर्णय गरिएको छ।

यसका साथै जिल्लास्थित आमसञ्चार माध्यममार्फत संविधान दिवस २०८३ को अवसरमा शुभकामना सन्देश प्रसारण गर्नुका साथै विभिन्न अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

म्याराथन, नगर सरसफाइ, प्रभातफेरी, अन्तरक्रिया र दीप प्रज्वलनजस्ता कार्यक्रममार्फत खाँदबारीमा संविधान दिवसलाई सहभागितामूलक रूपमा मनाउने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस