संखुवासभामा कांग्रेस वडा अधिवेशनको चहलपहल, ४० वडामा सम्पन्न, बाँकी ३६ मा आइतबार
संखुवासभा — नेपाली कांग्रेस संखुवासभाको वडा अधिवेशनले जिल्लामा राजनीतिक चहलपहल बढाएको छ। जिल्लाका कुल ७६ वडामध्ये शनिबार ४० वटा वडामा वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार बाँकी ३६ वटा वडामा आइतबार ४ गते वडा अधिवेशन सम्पन्न हुनेछ। जिल्लाका विभिन्न स्थानीय तहमा एकैपटक अधिवेशनको तयारी भएपछि कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ।
शनिबार सम्पन्न वडा अधिवेशनअन्तर्गत सिलिचोङ गाउँपालिकाका वडा नं. १ र ४, मकालु गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६, चिचिला गाउँपालिकाका वडा नं. १ र ५ तथा सभापोखरी गाउँपालिकाका वडा नं. १ र २ मा अधिवेशन सम्पन्न भएको छ।
त्यस्तै, खाँदबारी नगरपालिकाका वडा नं. २, ३, ४, ५, ९, १० र ११, पाँचखपन नगरपालिकाको वडा नं. ५, चैनपुर नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ८, ९ र ११ तथा धर्मदेवी नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, ८ र ९ मा पनि वडा अधिवेशन सम्पन्न भएको बताइएको छ। मादी नगरपालिकाका वडा नं. १, २, ४, ५, ६, ७ र ९ मा समेत शनिबार नै अधिवेशन सम्पन्न भएको छ।
अब आइतबार जिल्लाका बाँकी ३६ वडामा अधिवेशन हुने कांग्रेसले जनाएको छ। बाँकी वडामध्ये भोटखोला गाउँपालिकाका पाँचवटै वडामा समेत आइतबार अधिवेशन हुँदैछ। यससँगै जिल्लाका सबै ७६ वडामा वडा अधिवेशन सम्पन्न हुनेछन्।
संखुवासभामा १० वटा स्थानीय तह रहेका छन्। तीमध्ये ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन्। जिल्लाभर एकै चरणमा वडा तहको संगठनात्मक गतिविधि अघि बढेपछि कांग्रेसका स्थानीय नेता–कार्यकर्ताबीच भेटघाट, छलफल र संगठन सुदृढीकरणको वातावरण बनेको छ।
वडा अधिवेशन नेपाली कांग्रेसको संगठनात्मक संरचनामा महत्वपूर्ण तह मानिन्छ। वडा तहबाटै पार्टीका स्थानीय संरचना निर्माण तथा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएकाले अधिवेशनलाई स्थानीय कार्यकर्ताले चासोका साथ हेरेका छन्।
आइतबार बाँकी ३६ वडाको अधिवेशन सम्पन्न भएपछि संखुवासभाका सबै ७६ वडामा कांग्रेसको वडा तहको अधिवेशन प्रक्रिया पूरा हुनेछ। एकैपटक ठूलो संख्यामा वडा अधिवेशन सम्पन्न हुँदै जाँदा जिल्लामा कांग्रेसको संगठनात्मक गतिविधिले थप गति लिएको देखिएको छ।





प्रतिकृया दिनुहोस