संविधान दिवशमा खाँदबारीमा दौडदेखि सरसफाइसम्म

संखुवासभा — संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संखुवासभाको सदरमुकाम खाँदबारीमा शुक्रबार दौड प्रतियोगिता तथा सरसफाइ अभियान आयोजना गरिएको छ। 

पुरुषतर्फको दौड प्रतियोगितामा कमलराज शाही प्रथम, रमेश थापा द्वितीय, कुमार लिम्बू तृतीय र अमृत कटुवालले सान्त्वना स्थान हासिल गरेका छन्। त्यसैगरी महिलातर्फ कला भुजेल प्रथम, सुभद्रा जिसी द्वितीय र धनमाया मगर तृतीय भएका छन्। प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

दौड प्रतियोगिताले जिल्लामा खेलकुदप्रति आकर्षण बढाउनुका साथै युवालाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने आयोजकले जनाएका छन् ।

यसैबीच संविधान दिवसको मुख्य दिन असोज ३ गते विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। बिहान जिल्ला समन्वय समितिको सभाहलमा ‘नेपालको संविधान र नेपाली समाजको रूपान्तरण’ विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

त्यसैगरी साँझ ६ बजे खाँदबारीको पोखरी बजार तथा कार्यालय परिसरमा दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ। 

दिवसलाई उत्सवमय बनाउन आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, खेलाडी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

खाँदबारीको टुँडिखेलबाट लबिङहिलसम्म दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितासँगै सार्वजनिक स्थलको सरसफाइसमेत गरिएको आयोजकले जनाएको छ। संविधान दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक एकता, स्वस्थ जीवनशैली र स्वच्छ वातावरणको सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह जिल्ला समिति संखुवासभाको आयोजना, कर्मचारी मिलन केन्द्र संखुवासभाको सहकार्य तथा जिल्ला खेलकुद विकास समिति संखुवासभाको संयोजनमा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतिकृया दिनुहोस