सांगीतिक साँझमा गुञ्जिए भबिन ढुङ्गानाका मौलिक सिर्जना र लोकप्रिय गीत

काठमाडौँ - मौलिक संगीत, सुमधुर स्वर र गजलको भावनात्मक प्रस्तुतिमार्फत श्रोताको मन जित्दै आएका गायक तथा संगीतकार भबिन ढुङ्गानाको विशेष सांगीतिक कार्यक्रम ‘भबिन ढुङ्गाना लाइभ’ शनिबार साँझ काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजना गरिएको छ ।

 ढुङ्गानाले आफ्ना मौलिक सिर्जना तथा लोकप्रिय गीतहरूलाई एकोस्टिक संगीतको मिठासमा प्रस्तुत गर्दै दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गरे। उनले ‘आफ्नो माटो’, ‘टाढा नजाऊ’, ‘कुसुम जसले छाड्दै’, ‘रङ्गाएर प्रीतका पाना’, ‘बिहान ब्युँझेको’, ‘यो जिन्दगी’, ‘पुतलीका हुलहरू’ र ‘रक्तिम अधर तिम्रो’ लगायतका गीत प्रस्तुत गरे। आफ्ना सिर्जनासँगै उनले नेपाली संगीत क्षेत्रका पुराना गायक तथा गायिकाका लोकप्रिय गीतहरू पनि गाएर सांगीतिक माहोललाई थप रोचक बनाए।

 

पूर्वीय शास्त्रीय तथा उपशास्त्रीय संगीतमा प्रशिक्षित ढुङ्गानाको प्रस्तुतिमा शास्त्रीय, आधुनिक र फ्युजन संगीतको सुन्दर संयोजन देखिएको थियो। सांगीतिक तामझामभन्दा पनि स्वर, शब्द, संगीत र भावनालाई प्राथमिकता दिइएको कार्यक्रममा प्रत्यक्ष वाद्यवादनले गीतहरूलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रममा तबला, पर्कसन, गिटार, किबोर्ड र बाँसुरीका वाद्यवादकले उनलाई साथ दिएका थिए। सीमित दर्शकको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमले नियमित कन्सर्टभन्दा फरक आत्मीय र अन्तरंग सांगीतिक अनुभव प्रदान गरेको थियो।

‘द भ्वाइस अफ नेपाल’का पूर्व गायन सल्लाहकारसमेत रहेका ढुङ्गाना संखुवासभाको खाँदबारीका हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा गायन अध्ययन गर्ने क्रममा सन् २००४/२००५ मा आयोजित ‘नेपाली तारा सिजन १’ मा शीर्ष चारमा पुग्न सफल उनी ‘सुर शक्ति’ अवार्ड विजेता पनि हुन्।

उनले छात्रवृत्तिमा भारतको दिल्ली विश्वविद्यालयबाट शास्त्रीय संगीतमा स्वर्ण पदकसहित स्नातक र स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। गायक, संगीतकार, एरेन्जर तथा संगीत शिक्षकका रूपमा सक्रिय उनका ‘ संखुवासभा राम्रो’, ‘टाढा छु म’, ‘आँखा झिमिक्क’, ‘आफ्नो माटो’ र ‘हावा नभन्नु प्यारी’ लगायतका सिर्जना चर्चित छन्।

मौलिकता, सांगीतिक विविधता र भावनात्मक प्रस्तुतिलाई प्राथमिकता दिँदै आएका ढुङ्गानाले ‘भबिन ढुङ्गाना लाइभ’मार्फत श्रोता र संगीतबीचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास गरेका छन्।

प्रतिकृया दिनुहोस