सीमा सुरक्षामा प्रहरीको भूमिका महत्त्वपूर्ण : हर्क साम्पाङ

संखुवासभा -  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सुरक्षामा प्रहरीको भूमिका महत्त्वपूर्ण भएको बताएका छन् ।  नेपाल–चीन सीमामा रहेको संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांका पुगेका उनले  हातेमालो कार्यक्रममा सम्बोधन गर्दै दुई ठूला आणविक हतियार सम्पन्न शक्तिशाली राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालले आफ्नो सीमाको सुरक्षा गर्नु चुनौतीपूर्ण रहेको बताए।

 

उनले देशका दुर्गम गाउँहरूमा अझै पनि आधारभूत सेवा–सुविधाको अभाव रहेको उल्लेख गर्दै कतिपय स्थानमा विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, औषधि, स्वास्थ्यकर्मी र एम्बुलेन्ससमेत पर्याप्त नरहेको बताए। यस्तो कठिन परिस्थितिमा पनि देशको सार्वभौमिकता र सीमाको रक्षा गर्नु महत्त्वपूर्ण दायित्व भएको उनको भनाइ थियो।

साम्पाङले सीमामा खटिने प्रहरीहरूको मनोबल उच्च राख्नुपर्नेमा जोड दिँदै प्रहरीको कामको प्रशंसा गरे। प्रहरीबिना देशको शान्ति, सुरक्षा र व्यवस्था कायम रहन नसक्ने उल्लेख गर्दै उनले प्रहरी कर्मचारीप्रति हार्दिक सम्मान व्यक्त गरे।

उनले देशको सुरक्षा र सुशासनका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए। प्रहरीको मनोबल बढाउनुका साथै देशलाई सुशासन र विकासको बाटोमा अघि बढाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उनको भनाइ थियो।

“सुरुवात सानैबाट हुन्छ,” भन्दै साम्पाङले देश निर्माण र परिवर्तनका लागि स्थानीय तहबाटै सकारात्मक प्रयास थाल्नुपर्ने बताए ।

नेपाल–चीन सीमाको अन्तिम बस्ती किमाथांकामा पुगेर उनले सीमा सुरक्षा, प्रहरीको सम्मान र दुर्गम क्षेत्रका नागरिकले भोगिरहेका समस्यालाई आफ्नो सम्बोधनको मुख्य विषय बनाएका थिए।

प्रतिकृया दिनुहोस